डा. अजय शाह
नेताको पतन सधैँ चुनाव हारेपछि सुरु हुँदैन । कहिलेकाहीँ यो त्यसदिन सुरु हुन्छ, जुन दिन नेताले आफ्ना वरिपरिका तालीलाई जनताको वास्तविक आवाज ठान्न थाल्छ । प्रश्न गर्नेहरू टाढिँदै जान्छन्, प्रशंसा गर्नेहरू नजिकिँदै जान्छन् र अन्ततः नेता आफ्नै प्रतिध्वनिलाई जनमत सम्झने अवस्थामा पुग्छन् ।



भारतका अरविन्द केजरीवालको उदय र राजनीतिक धक्का, नेपालमा केपी शर्मा ओलीको उभार र उतार–चढाव तथा काठमाडौंमा बालेन शाहको उदाउँदो लोकप्रियता फरक–फरक राजनीतिक कथा हुन् । यी तीन पात्रलाई एउटै तराजुमा राखेर तुलना गर्नु उचित हुँदैन । तर यी तीनै नेताको उदयमा एउटा साझा प्रश्न आइपुग्छ– लोकप्रिय नेता संस्थाभन्दा ठुलो बन्न थालेपछि लोकतन्त्रमा के हुन्छ ?
यो प्रश्न बालेनका लागि मात्र होइन, नेपाली मतदाताका लागि पनि हो ।
केजरीवालः आन्दोलनदेखि सत्तासम्म
अरविन्द केजरीवालको राजनीतिक उदय परम्परागत दलविरुद्धको असन्तुष्टिबाट भएको थियो । भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको आम आदमी पार्टीले पुराना राजनीतिक शक्तिलाई चुनौती दिँदै दिल्लीमा असाधारण जनसमर्थन प्राप्त गर्यो ।
सन् २०१३ मा पहिलो पटक सरकार बनाएको आपले त्यसपछि सन् २०१५ र २०२० का विधानसभा निर्वाचनमा अत्यन्त ठुलो बहुमतसहित दिल्लीमा सरकार चलायो । केजरीवालको राजनीतिक ब्रान्ड स्पष्ट थियो– भ्रष्टाचारविरुद्धको लडाइँ, सामान्य मानिसको राजनीति र शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा जोड ।
पुराना दलप्रतिको वितृष्णाबिच उनी नयाँ विकल्प बने । यहीँ एउटा महत्त्वपूर्ण राजनीतिक सूत्र देखिन्छ । जनता प्रायः असन्तुष्टिमा नयाँ नेता खोज्छन् । तर असन्तुष्टिबाट जन्मिएको लोकप्रियता लामो समय टिकाउन पुरानाको आलोचना मात्र पर्याप्त हुँदैन ।
शासनमा पुगेपछि जनताले परिणाम खोज्छन् । त्यसपछि नेता नाराबाट नीति, छविबाट संस्थागत क्षमता र व्यक्तित्वबाट शासनको परीक्षामा प्रवेश गर्छ । केजरीवालले लामो समय दिल्लीमा आफ्नो राजनीतिक पकड कायम राखे । तर पछिल्लो चरणमा उनको राजनीति कानुनी विवाद, गिरफ्तारी र तीव्र राजनीतिक ध्रुवीकरणमा पनि फस्यो ।
सन् २०२४ मा मदिरा नीतिसम्बन्धी भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवालले ती सबै आरोप राजनीतिक प्रतिशोधबाट लगाइएको दाबी गरेका थिए । उनको दलले पनि उनीमाथिको आरोप अस्वीकार गरेको थियो ।
त्यसपछि आयो सन् २०२५ को दिल्ली निर्वाचन । २७ वर्षपछि भाजपाले दिल्लीमा सत्ता फर्कायो । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जित्दा आप २२ सिटमा खुम्चियो । अझ प्रतीकात्मक पराजय केजरीवालकै भयो । उनी आफ्नो परम्परागत नयाँ दिल्ली क्षेत्रबाट समेत पराजित भए ।
यो परिणामलाई केवल सरकार परिवर्तनका रूपमा बुझेर पुग्दैन । यो लोकप्रियताको राजनीतिले सामना गर्ने कठिन प्रश्न पनि हो । जसलाई जनताले पुरानो राजनीतिक शक्तिको विकल्प ठानेका थिए, केही बर्षपछि उसैको विकल्प किन खोजे जनताले ?
यसको उत्तर एउटै छैन । शासनको मूल्याङ्कन, राजनीतिक विवाद, जनअपेक्षा, विपक्षी रणनीति, सत्ता थकान र बदलिएको मतदाताको मनोविज्ञान सबैले भूमिका खेलेका हुन सक्छन् । तर एउटा पाठ भने स्पष्ट छ– लोकप्रियता स्थायी सम्पत्ति होइन ।
ओलीः शक्तिको शिखरदेखि प्रतिध्वनिको घेरासम्म
नेपालमा केपी शर्मा ओलीको उभार पनि असाधारण राजनीतिक परिस्थितिबाट भएको थियो । ०७२ को नाकाबन्दीको समयमा उनको राष्ट्रवादी अडान, त्यसपछिको वाम गठबन्धन र ०७४ को निर्वाचनबाट प्राप्त बलियो जनादेशले उनलाई अत्यन्त शक्तिशाली राजनीतिक पात्र बनायो ।
त्यो जनादेश परिवर्तनको अवसर थियो । तर बलियो जनादेशसँगै ठुलो जोखिम पनि आउँछ । सत्तामा पुगेपछि नेता वरिपरि एउटा यस्तो घेरा बन्न पुग्छ, जहाँ असहमतिको आवाज क्रमशः हराउँदै जान्छ । नेताले आफ्ना समर्थकको उत्साहलाई जनताको सार्वभौम समर्थन ठान्न थाल्छ । पार्टीभित्रको आलोचनालाई गुटबन्दी, बाहिरको आलोचनालाई विरोध र सञ्चारमाध्यमको प्रश्नलाई पूर्वाग्रह ठान्ने अवस्था सिर्जना भयो भने नेता जनताबाट होइन, आफ्नै प्रतिध्वनिबाट घेरिन थाल्छ ।
‘केपी ओली, आइ लभ यु’ जस्ता नाराहरू त्यस राजनीतिक मनोविज्ञानका प्रतीक बन्न पुगे । व्यक्तिप्रतिको प्रेम लोकतन्त्रमा अपराध होइन । समस्या त्यतिबेला सुरु हुन्छ, जब व्यक्तिप्रतिको निष्ठा संस्थाप्रतिको निष्ठाभन्दा ठुलो हुन्छ । प्रतिनिधिसभा विघटनलगायत संवैधानिक विवादमा पनि निर्णयको गुण–दोषमा बहस गर्नुभन्दा नेताको पक्ष वा विपक्षमा भावनात्मक ध्रुवीकरण देखियो ।
यही हो व्यक्तिकेन्द्रित राजनीतिको जोखिम । लोकरिझ्याईंको प्रमुख तत्त्वमध्ये एक हो यो । नेता गलत हुन सक्छ भन्ने सम्भावनालाई नै अस्वीकार गरियो भने नेता सुधारिने बाटो पनि बन्द हुन्छ । असल समर्थक त्यो होइन, जसले नेताको हरेक निर्णयको बचाउ गर्छ । असल समर्थक त्यो हो, जसले आवश्यक पर्दा आफ्नै नेतालाई भन्छ– ‘यो निर्णय गलत भयो ।’
नयाँ अनुहारमाथि पुरानोको छाया
बालेन शाहको उदय पनि परम्परागत राजनीतिक दलप्रतिको असन्तुष्टि र नयाँ पुस्ताको परिवर्तनको चाहनाबाट बनेको हो । सामाजिक सञ्जालले उनको राजनीतिक सन्देशलाई तीव्र रूपमा फैलायो । उनी पुरानो राजनीतिक संस्कारको विकल्पका रूपमा स्थापित भए ।
यो नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तन हो । तर नयाँ अनुहार हुनु र नयाँ राजनीतिक संस्कार हुनु एउटै कुरा होइन । यहीँबाट बालेनको वास्तविक परीक्षा सुरु हुन्छ । उनले पुराना दलका कमजोरी देखाएर लोकप्रियता कमाए । अब उनले आफ्नो शासन र राजनीतिक व्यवहारबाट नयाँ मापदण्ड स्थापित गर्नुपर्नेछ । किनभने चुनाव जित्नु जनताको विश्वास हो, सर्वज्ञताको प्रमाणपत्र होइन ।
निर्वाचित प्रतिनिधिले सबै कुरा जान्दैन । उसलाई अर्थशास्त्री चाहिन्छ, कानुनविद् चाहिन्छ, इन्जिनियर चाहिन्छ, अनुभवी कर्मचारी चाहिन्छ, स्थानीय तहको ज्ञान चाहिन्छ, नागरिक समाज चाहिन्छ, विपक्षीको आलोचना चाहिन्छ र स्वतन्त्र सञ्चारमाध्यम चाहिन्छ ।
नेताको वास्तविक क्षमता उसले कति कुरा आफैँ जान्छ भन्नेमा होइन, अरूको ज्ञानलाई कति राम्रोसँग उपयोग गर्छ भन्नेमा हुन्छ । सामाजिक सञ्जालमा हजारौँ लाइक पाउनु नीति सही भएको प्रमाण होइन । फेसबुक संसद् होइन । फलोअर सम्पूर्ण जनता होइनन् । र सामाजिक सञ्जालको मौनता सहमति पनि होइन । बालेनको लोकप्रियता उनको शक्ति हो । तर त्यही लोकप्रियता उनका लागि सबैभन्दा ठुलो राजनीतिक परीक्षा पनि बन्न सक्छ ।
यदि आलोचना गर्नेहरूलाई ‘पुरानो राजनीतिको मान्छे’ वा ‘विरोधी’ भनेर पन्छाउन थालियो, आफ्ना समर्थकले हरेक निर्णयको अन्धो बचाउ गर्न थाले, सामाजिक सञ्जालको प्रशंसा नै जनमतको अन्तिम प्रमाण बन्न थाल्यो भने नयाँ राजनीतिको अनुहारमा पुरानै रोग देखिन थाल्नेछ । त्यसपछि प्रश्न उठ्नेछ–बालेन बदलिएका हुन् कि केवल नेपालको ‘उद्धारकर्ता’ बदलिएको हो ?
नेता बदलिन्छन्, मनोविज्ञान बदलिँदैन
ओली, केजरीवाल र बालेनको कथा जोड्दा सबैभन्दा गम्भीर प्रश्न नेताहरूमा होइन, हामीमा देखिन्छ । हामी बारम्बार एउटा त्यस्तो नेता खोज्छौँ, जसले सबै समस्या समाधान गरिदियोस् । भ्रष्टाचार अन्त्य गरिदेओस् । विकास, रोजगारी र व्यवस्था सुधारिदेओस् । पुराना दल पनि हटाइदियोस् । र अन्ततः देशलाई ‘बचाइदियोस्’ ।
अनि त्यस्तो नेतामाथि हामी यति ठुलो अपेक्षा राख्छौँ कि उसलाई प्रश्न गर्न पनि डराउँछौँ । यहीँबाट ‘उद्धारकर्ता राजनीति’ जन्मिन्छ । केजरीवाललाई भ्रष्टाचारविरोधी आन्दोलनबाट उद्धारकर्ताको छवि दिइयो । ओलीलाई राष्ट्रवादी र निर्णायक नेताको छवि दिइयो । बालेनलाई पुरानो राजनीतिक संस्कार तोड्ने नयाँ विकल्पका रूपमा हेरियो ।
तर लोकतन्त्रलाई उद्धारकर्ता चाहिँदैन । लोकतन्त्रलाई जबाफदेही संस्था चाहिन्छ । नेता महान् हुन सक्छ । तर संस्था कमजोर भयो भने महान् नेता पनि जोखिम बन्न सक्छ । किनभने लोकतन्त्रको सुन्दरता असाधारण नेतामा होइन, साधारण संस्थाले असाधारण शक्तिलाई पनि सीमित गर्न सक्नुमा हुन्छ । नेताले गल्ती गर्न पाउने व्यवस्था लोकतन्त्र हो । तर गल्ती सच्याउन बाध्य बनाउने व्यवस्था अझ राम्रो लोकतन्त्र हो ।
त्यसैले बालेनका लागि ओली र केजरीवालको कथा चेतावनी हो, भविष्यवाणी होइन । ओलीको राजनीतिक यात्राले देखाउँछ– बलियो जनादेशपछि आत्मसमीक्षा हराउन सक्छ । केजरीवालको यात्राले देखाउँछ– पुराना दलविरुद्धको असन्तुष्टिबाट बनेको लोकप्रियता पनि स्थायी ग्यारेन्टी होइन । सन् २०२५ को दिल्ली परिणामले एक समय अत्यन्त बलियो रहेको आपलाई २२ सिटमा सीमित गर्यो र केजरीवाल स्वयं आफ्नो निर्वाचन क्षेत्रबाट पराजित भए ।
र, बालेनको यात्रा अहिले पनि खुला किताब हो । उनले कुन अध्याय लेख्छन्, त्यो समयले देखाउनेछ । तर एउटा कुरा आजै भन्न सकिन्छ । लोकप्रियताको सबैभन्दा ठुलो शत्रु विपक्षी होइन, अन्धो समर्थन हो । विपक्षीले प्रश्न गर्छ । आलोचकले असहज बनाउँछ । पत्रकारले हिसाब खोज्छ । नागरिकले जवाफ माग्छ । तर अन्धो समर्थकले नेताको कमजोरी लुकाउँछ । त्यसैले नेताका लागि सबैभन्दा खतरनाक भीड उसका अन्ध समर्थकको भीड हो ।
अन्त्यमा
हामीले बारम्बार नेता बदल्यौँ । तर नेताप्रतिको आफ्नो व्यवहार बदल्न सकेनौँ । हिजो कसैलाई ‘अन्तिम आशा’ बनायौँ । आज अर्कोलाई बनाउँदैछौँ । भोलि अर्को अनुहार आउनेछ । अनुहार फेरिनेछ, नारा फेरिनेछ, सामाजिक सञ्जालको ट्रेन्ड फेरिनेछ । तर हामीले फेरि त्यही व्यक्तिपूजालाई निरन्तरता दियौँ भने परिणाम पनि उही हुनेछ । किनभने इतिहासको सबैभन्दा कठोर व्यङ्ग्य भनेकै नेताको अन्ध समर्थन गर्ने जनता अन्ततः नेताबाट होइन, आफ्नै अन्ध समर्थनबाट ठगिन्छन् ।
सायद लोकतन्त्रको सबैभन्दा डरलाग्दो क्षण त्यो होइन, जब नेताले गलत निर्णय गर्छ । सबैभन्दा डरलाग्दो क्षण त त्यो हो– जब नेता गलत हुँदा पनि भीडले ताली बजाइरहेको हुन्छ । पत्रकार चुप हुन्छ । कार्यकर्ता प्रश्न गर्न डराउँछन् र नागरिकले ‘हाम्रो नेता गलत हुनै सक्दैन’ भन्न थाल्छ ।
त्यस दिन नेता मात्र खतरामा पर्दैन । लोकतन्त्र नै लोकप्रियताको पासोमा परिसकेको हुन्छ ।
– रातोपाटी




