जनकपुरधाम- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा अनिता देवी साहलाई उम्मेदवार बनाउने निणर्य गरेको छ।
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साहलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको लागि उम्मेदवार बनाउने निणर्य गरेको हो ।



साह पार्टीको केन्द्रीय सचिव हुन् । उनलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएको डा. सीके राउतको सचिवालयले जनाएको छ । शैक्षिक योग्यताले स्नातक साहको विभिन्न गैर सरकारी संस्था तथा समाजिक क्षेत्रमा जनकपुरधाम सहित जिल्लाको विभिन्न क्षेत्रमा काम गरेको लामो अनुभव रहेको पार्टीले जनाएको छ। उनि पार्टीको पहिलो अधिवेशनबाट केन्द्रिय सचिवमा चयन भएकी हुन् ।

यसअघि सोमबार जनमत पार्टीले ११० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।
जनमतले निणर्य गर्न बाँकी रहेका वा दाबी विरोधबाट ‘विचाराधीन’ अवस्थामा पुगेका उम्मेदवारहरूबारे निणर्य पछि गरिने जनाएको छ ।
जनमत पार्टीले वैशाख ७ र ८ गते जनकपुरधाम, विराटनगर र भैरहवाबाट वडाध्यक्षको टिकट वितरण गर्ने जनाएको छ ।
पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको जानकारी दिए ।
उनले विभिन्न पालिकामा एकभन्दा बढी आकांक्षी रहे पनि सबै एक जुट भएर उत्साहका साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष सहित सदस्यहरूको नाम टुंगो लागेको बताए ।




