जनकपुरधाम । चुनावलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले आज मंगलबारदेखि मदिरा निषेध र भारतसँग जोडिएका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार मध्य रातिदेखि मदिरा निषेध र भारतसँग जोडिएका सीमा नाका बन्द गरिने प्रशासनले जनाएको छ ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले एक सार्वजनिक सूचना जारी गर्दै मंगलबार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को विक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते राति १२ः०० बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाका समेत पूर्णत बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
मंगलबार राति १२ः०० बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा/शव बाहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधन बाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको उनले जानकारी दिए ।
सो आदेशको उलंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले चेतावनी दिए ।
यस्तै बैशाख ३० गते मतदानको दिन सवारी साधन चलाउन निषेध गरिएको र अतिआवश्यक बाहेक दलका उम्मेदवार, पत्रकार लगायतलाई पासको व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सवारी पासका लागि बैशाख २८ र २९ गते मात्र सवारी अनुमति पत्र (पास) प्रदान गरिने जनाएको छ ।
कार्यालयका अनुसार चुनावको दिन सवारी साधान चलाउने पासको लागि सवारी साधनको ब्लुबुकको फोटोकपी, सवारी चालकको लाईसेन्सको फोटोकपी, उम्मेदवारको परिचय पत्रको फोटोकपी, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको अनुसूची बमोजिमको सिफारिस पत्र र संचारमाध्यमको हकमा सूचना तथा प्रसारण विभागले तोकेको स्थानीय संचार गृह वा जिल्लास्थित पत्रकार महासंघको सिफारिस पत्र लगायतको कागजात पेश गर्नुपर्नेछ ।




