जनकपुरधाम- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई गिरफ्तार गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई माघ ६ गते निर्देशन दिएको छ ।
माघ ६ गते एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षर रहेको विज्ञप्तिमा निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ ।
यसअघि सांसद कोइरी संसद् बैठकमा उपस्थित भइरहँदा पनि पक्राउ नगरेको भन्दै कांग्रेस सांसदले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए ।
लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको प्रतिक्रिया दिएका थिए ।
कोइरी मधेस आन्दोलनका बेला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।
२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । पछि जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता उनी फरारको सूचीमा छन् ।
हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा महोत्तरी क्षेत्र नं. १ बाट एमालेको टिकटबाट निर्वाचित कोइरीलाई प्रतिनिधिसभा सदस्यको शपथग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेकाले संसद्को कामकारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो ।
प्रहरीको पत्रपछि पनि कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन बैठकमा सहभागी भएका थिए ।





