काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज (बिहीबार) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।



जसपा प्रचार विभागमा प्रमुख पूर्ण बस्नेतले सो कुराको जानकारी दिनुभयो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।
उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो
जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त भएको छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेलललाई जिताउने गठबन्धनकै तर्फबाट उपराष्ट्रपति यादव चुनाव लड्ने भएका कारण उनी जित्ने पक्का छ । त्यसमाथि एमालेले उपराष्ट्रपति पदमा उम्मेदवारी नदिने धेरै सम्भावना छ । एमालेले भोलि शुक्रबार पार्टी केन्द्रीय कार्यालय बैठक डाकेर यसबारे औपचारिक निर्णय गर्ने सम्भावना छ ।
यस्तो भएमा यादव उपराष्ट्रपतिमा सर्वसम्मत बन्न सक्छन् ।
उनको जितसँगै रिक्त हुने बारा २ को निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव लड्न चाहन्छन् । यादव यसअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित थिए ।
जसपा प्रवक्ता मनिष सुमनका अनुसार यसबारे पार्टीमा कुनै निर्णय भएको छैन । ‘कुनै पनि सम्भावनामा जान सक्छौं, त्यसका लागि संसदीय बोर्ड र क्षेत्रीय समितिको बैठक बस्छ,’ सुमनले भने, ‘तर हतार भयो भने सिधै केन्द्रीय समितिले निर्णय गर्छ ।’




