जनकपुरधाम- मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।



मधेश प्रदेश सभाको बैठकमा पेश गरिएको प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, उद्योग, पर्यटनका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिइएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको समग्र विकासका लागि सिँचाइ, यान्त्रिकीकरण, उन्नत प्रविधिका साथै उत्पादित कृषिको प्रशोधन तथा बजारीकरणमा जोड दिइएको छ । यसका साथै किसानहरूलाई निःशुल्क कृषि विद्युत् मिटर जडान गर्दै भूमिगत सिँचाइमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
प्रस्तुत गरिएको निति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रथमिकतामा राखेर उत्पादन र उत्पादकत्त्व वृद्धिका लागि प्रदेश र स्थानीय तहको सहकार्यमा बाँझो एवं उपयोग विहिन खेती योग्य जमीनको प्रयोग (कृषक समूह तथा कृषक सहकारीलाई लिजमा जमीन उपलब्ध गराउने व्यवस्था), “एक टोल एक सामुहिक कृषि उत्पादन”,“एक वडा एक विशेष उत्पादन“ र “एक पालिका एक उत्पादन क्षेत्र“ लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
प्रदेश वन तथा वातावरण मन्त्रालयद्वारा माथिल्लो तथा तटीय अन्तरसम्बन्धको आधारमा चुरेको प्रभावकारी संरक्षण गर्न एकिकृत प्रणाली अनुरुप चुरे संरक्षण तथा व्यवस्थापन कार्यान्वयका लागि “चुरे संरक्षण तथा व्यवस्थापन ऐन” बनाउन आवश्यक पहल गरिने, प्रदेश भित्र रहेका नदीजन्य पदार्थ जस्तै बालुवा, गट्टी, क्रसर उद्योगलाई व्यवस्थित गर्न आवश्यक ऐन, कानून निर्माण गरी कार्यान्वयनमा ल्याईने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

यसका साथै मधेश प्रदेशका विभिन्न पर्यटकीय स्थलको विकास तथा सौन्दर्यीकरणमा विशेष जोड दिँदै बाराको गढीमाइको विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रदेश प्रमुखले पेश गर्नुभएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
मधेस प्रदेशको पर्यटन पुर्वाधार, आन्तरिक पर्यटनको आधार भन्ने नारालाई सार्थक तुल्याउन प्राथमिकताका प्रदेशका साथ धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक महत्वका पुर्वाधारको जिणर्ाद्धार, विकास र प्रबद्र्धन गर्न दीर्घकालिन प्रभाव र परिणाम दिने ठूला लगानीका एक जिल्ला एक नबीनतम पर्यटकीय गन्तव्य को कार्यनिति लिई प्रदेश गुरुयोजना तुर्जमा गरी वार्षिक तथा बहुवर्षिय कार्यक्रमलाई निरन्तरता दिइनेछ।
नीति तथा कार्यक्रममा शौर्य ऊर्जाको पर्याप्त सम्भावना भएकाले शौर्य ऊर्जामा विशेष जोड दिने भएको छ ।
यसका साथै प्रदेशका सबै सडकको किनार खाली जग्गा वृक्षारोपण अभियानमा तीव्रता दिने मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । यसका लागि प्रदेशमा नर्सरी विकासमा जोड दिई बिरुवा उत्पादन गरिने भएको छ ।
यसका साथै प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशमा उत्कृष्ट कामकाज गर्ने पत्रकारलाई वर्षेनी पुरस्कृत गर्नुका साथै एफ एम रेडियोको संरक्षणका लागि पनि कार्यक्रम ल्याइने भएको छ ।
पूर्णपाठ पढ्नुहोस्।




