महोत्तरी – महोत्तरी क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद जनताको घरदैलोमा पुगेर समस्याहरु सुन्न थालेका छन् । चुनाव जितेपछि नेताहरु गाउँ नफर्किने गुनासो हुन नदिन शनिबार प्रतिनिधिसभा सांसद महेन्द्र राय यादव जनताको घरदैलोमा पुगेर समस्याहरुका बारेमा जानकारी लिएका हुन् ।
जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउँदै उनीहरुले महोत्तरी क्षेत्र नं. ४ लाई नमूना बनाउने गुरु योजना तयार भएको बताएका छन् । प्रतिनिधिसभा सांसद राय यादवले महोत्तरी क्षेत्र नं. ४ मा रहेका विभिन्न विभिन्न नगरपालिका र गाउँपालिकाको वडाहरुमा दिर्घकालिन योजनाको ब्यवस्थापनका मिलाउन सम्बन्धित निकायमा पहलकमी लिने बताएका छन् ।



जनताका आधारभूत आवश्यकताहरु पूरा गर्दै समृद्ध क्षेत्रका रुपमा महोत्तरी ४ लाई अघि बढाउने आफ्नो योजना रहेको उनले सुनाए । उनले क्षेत्रवासीलाई विकासको अनुभूति गराउने गरी काम गर्ने योजना बुनेको पनि बताएका छन् । जनताको इमान्दार सेवक र भरिया भएर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनताको आशा र अपेक्षा पुरा गर्नका आफु सदैव सक्रृय रहने बताएका छन् ।‘जनताले दिएको विश्वास कुनै हालतमा पनि डगमगाउन दिनेछैन’ उनले भने–‘जनतालाई विकासको अनुभूति गराउने गरी काम गछौं ।’

प्रतिनिधिको रुपमा जनताको समस्या समाधान, आवश्यकताको सम्बोधन, विकास र सम्मृद्धीको अभियानमा केन्द्रित हुने उनको भनाई छ । उनले स्थिर सरकार निर्माण गरी मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजान आम जनताले दिएको जनमत अनुसार आफू अगाडि बढ्ने बताउँदै निर्वाचनमा मतदान गरी विजयी गराउने मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।
उनले स्थानीय स्रोत र साधनको उपयोग गर्दै सम्भावनाहरुको उजागर गर्नतर्फ आफ्नो प्रमुख जोड रहने बताउँदै सबैसँग हातेमालो गर्दै विकास निर्माणलाई अगाडि बढाउने बताएका छन् । आगामी योजनाहरु निर्माणमा आफुहरु जनताका समस्याहरु बुझ्नको लागि गाउँ गाउँमा पुगेको बताउँदै जनताको सच्चा सेवकका रुपमा आफूले काम गर्ने पनि सांसद् राय यादवले बताएका छन् ।
मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय बासिन्दाले विभिन्न विकास योजनाको माग र समस्याको बारेमा ध्यानाकर्षण समेत गराएका छन् ।




