जनकपुधाम- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको जनकपुरधाममा बिहीबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताउँदै त्यसका लागि कांग्रेस लागिरहेको पनि बताए ।

उनले नेपाली राजनीतिलाई बलियो बनाउन काँग्रेसले अभियान चालि सकेको बताए ।
देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताउँदै उनले काँग्रेस भित्रको सबै खाले गुट उपगुटहरु तोड्नु पर्ने बताए । देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग मधेश बाटै अभियान चलाएर मुक्त बनाउनु पर्ने बताए ।उनले देशमा मिश्रित निर्वाचन प्रणाली रहे सम्म कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको बताए । देउवाले भने, ‘अहिले कांग्रेस ठूलो पार्टी भए जस्तै भोलिका दिनमा अन्तर्घात नगरी ठूलो पार्टी बनाउने अभियान मधेश प्रदेश बाटै सुरु गर्नु आवश्यक छ ।’



गणतन्त्रलाई कसैले हल्लाउन खोजे त्यसका विरुद्ध सिंगो देश एकजुट भएर रक्षा गर्नुपर्ने ः उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले हल्लाउन खोजे त्यसका विरुद्ध सिंगो देश एकजुट भएर रक्षा गर्नुपर्ने बताए ।

खड्का ले भने, ‘जनताले हालेको मतबाट आफ्नो मुलुकको शासन आफैंले गर्ने अधिकार भएको संविधानका विरूद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने, त्यसको विरूद्धमा सिंगो मधेस जुरूक्क उठ्नुपर्छ ।’ उनले मधेशले लडेर मुलुकमा संघीयता ल्याएको भन्दै त्यसको रक्षाका लागि पनि मधेश सक्रिय हुनुपर्ने बताए ।
‘संविधानको रक्षा र यो व्यवस्था रक्षाका लागि मधेसले एकताबद्ध भएर अहिलेका चुनौती सामना गर्नुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका कानुन बनाउन ढिलाइ भएको स्वीकार गरे । ‘प्रदेशका अधिकारसँग जोडिएका कानुन तत्काल निर्माण गर्ने तयारीमा संघीय सरकार छ,’ उनले भने, ‘संघीय निजामती, प्रहरी ऐनहरू आउँदो हिउँले अधिवेशनसम्म पारित गर्नेछौं ।’
मिसन ८४ होइन मिसन सुशासन बनाउन आवश्यक ः उपसभापति गुरुङ
सम्मेलनमा उपसभापति धनराज गुरुङले मधेसलाई माथि उठाउनुपर्ने बताए । मिसन ८४ होइन मिसन सुशासन बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले सुशासनको अभियान चलाएको छ । अब भ्रष्टाचारका फाइल खोल्दै जाने हो । सबै कुरामा विरोध गरेर हुँदैन,’ कानुन मन्त्री समेत रहेका गुरुङले भने । मन्त्री गुरुङले सङ्घीयता सम्बन्धी कानुन चाँडै बनाउने बताए ।

‘सङ्घीयता सम्बन्धी कानुन बनाउँछु । हिउँदे अधिवेशन ढिलो हुने अवस्थामा अध्यादेश ल्याउँछु । सङ्घीयता सम्बन्धी कानुन बन्छ, बन्छ,’ उनले भने ।
‘उठु मधेश, जागु मधेश’को नारा लगाएर मधेशकेन्द्रित दलहरुले लुट मच्चाए ः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मधेशका नेतालाई काठमाडौंमा समस्या भएपछि मधेशमा आएर ‘उठु मधेश, जागु मधेश’को नारा लगाएर मधेशकेन्द्रित दलहरुले लुट मच्चाएको उनले आरोप लगाए ।

‘आउने निर्वाचनमा हामी छाता ओड्दैनौं, साइकल चढ्दैनौं, हँसिया हथौडामा छाप लगाउँदैनौं’, थापाले भने, ‘मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाएर सुशासनको नमुना देखाउनु आवश्यक छ ।’
महामन्त्री थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताए । ’बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ ।’
थापाले कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक रहेको बताए ।
थापाले संघीयता र गणतन्त्र विरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्याउनु पर्ने बताए ।
संघीयता कार्यन्वयनका लागि बनाउन बाँकी रहेका ४० कानुन बनाउन कांग्रेसले अग्रसरता देखाउनु पर्ने उनको भनाइ थियो ।
मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो ः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको बताएका छन् ।
उनले भने, ‘मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको छ । कांग्रेसले पनि मधेसलाई साथ दिएको छ ।’

कांग्रेसले मधेसलाई विश्वासमा लिएर जाने प्रयास गरेको बताउँदै महामन्त्री शर्माले कांग्रेसले प्रदेशलाई प्राथमिकता दिएका बताए। ‘कांग्रेसले पहिला राष्ट्रपतिका रुपमा मधेसका रामवरण यादवलाई शितल निवास पठायो । कांग्रेस मधेसको पनि कुरा गर्छ । पहाडको पनि कुरा गर्छ । पहाडको पानीले मधेस सिञ्चित गर्नुपर्छ ।’
उनले मधेसको सामाजिक विकृति र विसंगतिविरुद्ध युवा जुरुक्क उठ्नुपर्नेमा समेत जोड दिए । शर्माले मधेसको आत्मासम्मानमा कांग्रेस सतिशाल भएर उभिने समेत बताए । उनले भने, ‘मधेस मुस्कुराउनु पर्छ । मुस्कुराउँदा दागर हित मुहारमा मधेस मुस्कुराउनुपर्छ ।’
देउवा मजबुत भए मात्र कांग्रेस मजबुत हुने ः सहमहामन्त्री यादव
सहमहामन्त्री महेन्द्र यादवले शेरबहादुर देउवा मजबुत भए मात्र कांग्रेस मजबुत हुने र तब मात्र मधेशको हित हुने बताए । उनले कांग्रेसको अभिभावक कमजोर भएर कांग्रेस केहि गर्न नसक्ने कुरा पनि गम्भिरतापुर्वक सोच्नुपर्ने बताए ।

पार्टीमा एकता र सहिष्णुताको आवश्यकता ः प्रवक्ता महत
कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाश शरण महतले पार्टीमा एकता र सहिष्णुताको आवश्यकता औँल्याएका छन् । उनले मधेसमा कांग्रेस बलियो हुँदा मात्र देशमै नेपाली कांग्रेस बलियो हुने बताए ।

उनले कांग्रेस सरकारमा हुँदा मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने आश्वासन दिए । ’जति पनि विकास निर्माणको प्रक्रिया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ,’ उनले भने, ’मधेशका आठवटै जिल्लामा सिंचाईको प्रबन्ध गर्ने कुरामा म पार्टीका तर्फबाट प्रतिबद्धता जनाउँछु ।’
उनले मधेश कांग्रेसको जनाधार क्षेत्र भएको उल्लेख गरे । ‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौं भने, देशैभरि कांग्रेसले बहुमत ल्याउँछ’ उनले भने, ‘त्यसका लागि कांग्रेस पार्टीभित्र एकताको आवश्यकता छ । आरोप-प्रत्यारोप होइन, संस्थागत निणर्य गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ ।’
मधेशमा एक्लै बहुमत ल्याएर केन्द्रिय सरकार बनाउने शक्ति दिन सक्षम छौं ः मधेस प्रदेश सभापति यादव
मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले साना दलको पिछलग्गु भएर आफुहरु बस्न नसक्ने भन्दै एक्लै काम गर्न र जनतामा पुग्ने वातावरण निर्माणका लागि नेतृत्वलाई आग्रह गरे । उनले मधेशमा एक्लै बहुमत ल्याएर केन्द्रिय सरकार बनाउने शक्ति दिन आफुहरु सक्षम रहेको पनि दावी गरे ।

उनले मधेशमा कांग्रेस कमजोर हुँदा नेपाली कांग्रेस कमजोर हुने र कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने स्थिति बन्ने गरेकाले मधेशलाई विशेष रुपले हेर्न पार्टीका नेताहरूलाई आग्रह गरे ।
प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी समेत दिए । उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे । ‘प्रदेश सरकारसँग अधिकार छैन । संविधानले, कानुनले दिएको अधिकार पनि संघले अधिकार दिएको छैन । हामीले प्रधानमन्त्रीसँग पटक-पटक अधिकारका विषयमा कुरा गरेका छौँ । तर अधिकार पाएनौँ,’ उनले भने, ‘हामीसँग प्रहरी छैन । कर्मचारी छैनन् । यदि अब पनि प्रदेशलाई अधिकार नदिने हो भने हामी राजनीतिक प्रस्ताव पास गरेर सिंहदरबार घेर्न आउँछौँ ।’
सो अवसरमा अन्य सहमहामन्त्रीहरु, केन्द्रिय सदस्यहरु, प्रदेशका सभापतिहरु सहितकाले समेत सम्बोधन गरेका थिए भने कांग्रेसको मुखपत्रको मधेश संस्करणको सभापति देउवा सहितका शिर्षनेताहरु सामुहिक रुपमा लोकापणर् गरेका थिए । भोली हुने बन्दसत्रले मधेशमा आफनै नेतृत्वमा सरकार सहित प्रदेश बारे कांग्रेस ठोस निश्कर्षमा पुग्ने बताइएको छ ।




