महोत्तरी – महोत्तरी क्षेत्र नं. ४ मा पर्ने सम्सी गाउपलिका ७ सम्सी बजारमा निर्माण गरिएको शहीद शिवचन्द्र मिश्रको शालीक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र उक्त क्षेत्रबाट निर्वाचित संघीय सांसद महेन्द्र राय यादवले संयुक्त रूपमा अनावरण गरेको छ ।
को हुन् शहीद शिवचन्द्र मिश्र ?



विक्रम सम्बत १९९९ साल कार्तिक १९ गते तत्कालिन महोत्तरी सर्लाही गोश्वाराको लोहारपट्टी गाउँमा शोभित मिश्र र झरिया देबीको कान्छो छोराको रुपमा शिवचन्द्र मिश्र जन्मिएका थिए । बाल्यकाल देखि नै गाउँघरमा बिद्रोही स्वभावका थिए उनी । १३ बर्षको उमेरमै जनकपुरको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए, उनले । त्यस पछि भारतको बिहारमा उच्च शिक्षा अध्ययनका लागि गए । बीएल अध्ययन गरिरहेको बेला नेपालमा राजनीतिक उथुलपुथुल भयो ।

राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला सहित मन्त्रीहरू तथा नेताहरूलाई जेलमा हालेर पञ्चायती ब्यबस्था सुरु गरे पछि भारतमा अध्ययन गरिरहेका विद्यार्थीहरू स्वस्फुर्त रूपमा संगठित भए । महोत्तरीकै डाम्हीका चिन्ताहरण सिंह, रामचन्द्र सिंह,पिपराका हरिसुन्दर मिश्र,रतौलीका राजेन्द्र मिश्र लगायतका विद्यार्थीहरूले भारतमै विद्यार्थीको एउटा मोर्चा बनाए ।
त्यहीं अध्ययन गरिरहेका धनुषाको जटहीका दुर्गानन्द झा, बसहियाका माहाबीर सिंह लगायतका बिद्यार्थी पनि उक्त टीममा सामिल थिए ।त्यसै बेला राजा महेन्द्रको जनकपुर आउने कार्यक्रम तय भएको थियो । जनकपुर बिमानस्थलमा आएर जानकी मन्दिरको दर्शन गरेर रंगभूमि मैदान बारहबिघामा सम्बोधन गर्ने उनको कार्यक्रम तय भएको थियो । त्यसैले त्यही कार्यक्रममा केही न केही गर्नु पर्छ भन्दै भारतमा बिद्यार्थीहरूले हिंसात्मक योजना बनाएका थिए ।
राजा महेन्द्रमाथि आक्रमणको योजना
नेपाली कांग्रेसका पूर्व सांसद समेत रहेका लोहारपट्टीकै महेन्द्र मिश्रका अनुसार भारतमा रहेको क्याम्पमा राजा माथि आक्रमण गर्नका लागि अलग अलग तीन वटा सेल बनाईएको थियो । फेरी त्यो सेलमा को को छन् भन्ने कुरा सेलमा हुने व्यक्तिलाई समेत जानकारी गराईदैनथ्यो । मिश्र भन्छन्,‘किन भने मुखबिरी गर्ने डर पनि त्यतिकै थियो ।

कसैले योजना भंग गर्न सक्ने खतरा पनि त्यति नै थियो । त्यसैले सेलमा को को छन्, कसको भूमिका र एक्सन के हुने भन्ने बारे कसैलाई पनि जानकारी हुँदैनथ्यो ।’ त्यस पछि राजा महेन्द्रमाथि तीन स्थानमा आक्रमण गर्ने योजना बनेको थियो ।

जनकपुर विमानस्थलमा अरविन्द ठाकुरलाई, जनाकी मन्दिरमा दुर्गानन्द झालाई र बारहबिघा मैदानमा शिवचन्द्र मिश्रलाई बम प्रहार गर्न खटाइएको थियो । राजा महेन्द्र जनकपुर विमानस्थलमा आउनु अघि नै बम बोकेर विमानस्थल पुगेका अरविन्द ठाकुर पक्राउ परे । त्यस पछि ब्यापक सर्च हुन थाल्यो । २ घण्टा पछि राजा महेन्द्र विमानस्थलमा आए । त्यस पछि राजाले जानकी मन्दिरमा पूजा गर्न जाँदा दुर्गानन्द झाले राजा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरे । राजा महेन्द्र जोगिए, उनी चढेको गाडीमा क्षति भयो ।

अर्को स्पोट बारहबिघामा शिवचन्द्र मिश्र बम सहित तैनाथ थिए । त्यहाँ रहेको तेस्रो सेलमा आबद्ध रहेका भ्रमरपूराका मिथिलेश शर्मा, बल्ताम शर्मा र सिताराम साहलाई मञ्चमै बम सेट गर्ने जिम्मा दिइएको थियो । जब जानकी मन्दिरमा दुर्गानन्द झाले बम प्रहार गरे, त्यस पछि जनकपुरमा मानिसको भागाभाग भयो । बारहबिघाको कार्यक्रम स्थगित गरियो । घर घरमा प्रहरीले छापामारी गर्न थाले । महेन्द्र मिश्र भन्छन्,‘त्यस पछि त मान्छेको धरपकड, कुटपिट मात्रै शुरु भएन, घरमा रहेका कतिपय महिलाको अस्मिता समेत प्रहरी र सेनाले लुटे ।
’दुर्गानन्द पनि भाग्न सफल भए । अर्को तर्फ बारहबिघामा रहेका शिवचन्द्र मिश्र पनि बोर्डर क्रस गरेर भारत क्याम्पमा पुगे । त्यतिबेला बोर्डर नजिककै भारतको छतौनी, उभगाउँ आदिमा क्याम्प लागेको थियो ।पछि दुर्गानन्द झाले नेपाल आएर गिरफ्तारी दिएका थिए । त्यस पछि बोर्डर संग टासिएको नेपालको प्रहरी चौकीमै आक्रमण गर्ने योजना बन्यो । २०१९ साल असोज २३ गते महोत्तरीको सम्सी र सर्लाहीको मलंगवामा रहेको प्रहरी चौकीमा आक्रमण गरेर प्रहरीको हतियार लुट्ने योजना तय भयो । शिवचन्द्र मिश्र पेस्तोल बोक्थे । तर, त्यो दिन उनी संगै क्याम्पमा रहने गरेका चिन्ताहरण सिंहले उनीसंग रहेको पेस्तोल फिर्ता लिए र बन्दुक उनलाई थमाए । त्यही बन्दुक लिएर रातिको समयमा सम्सीको प्रहरी चौकीमा उनले आक्रमण गरे । रात भरि दोहोरो फायरिंग भयो ।

त्यहाँ रहेको एउटा पिपलको रुखको आड लिएर मिश्रले गोली चलाईरहेका थिए । प्रहरीले पनि गोली चलाईरहेका कारण त्यो पिपलको बोक्रा समेत उखेलिएको थियो, गोलिका कारण ।परिस्थिति यस्तो भयो की प्रहरी ब्याक भयो । चौकी छोडेर चौरी, खेत तर्फ भागे । भोलि पल्ट बिहानको समयमा जब मानिसहरू जम्मा हुन थाले, मिश्रले भाषण गर्न थाले । हाम्रो लडाई तपाईं जनताहरू संग छैन, प्रहरी प्रशासन र यो पञ्चायती ब्यबस्था बिरुद्ध हाम्रो लडाई हो भन्दै सम्सी बजारमा जम्मा भएका मानिसहरूबीच उनले भाषण गरे ।
त्यसै सयम सम्सीका प्रधानपञ्चले भाषण गरिरहेका शिवचन्द्रलाई पछाडिबाट समाते । त्यसपछि उक्त स्थानमा प्रहरी आयो र शिवचन्द्रमाथि तीन गोली प्रहार गर्यो । २०१९ साल अशोज २४ गते उनलाई प्रहरीले गोली हानेर मारेका थिए । त्यस पछि बोर्डरमै एउटा खाल्डो खनेर उनको लाशलाई पुरिएको थियो । लोहारपट्टीकै केशवर सहनीले पछि गएर खाल्डोमा पुरिएको लाशलाई पहिचान गरे । शिवचन्द्र मिश्र मारिएको खवरले लोहारपट्टी गाउँमा सन्नाटा छायो ।

महेन्द्र मिश्र भन्छन्,‘त्यस पछि त मेरो गाउँ लोहारपट्टीमा करिब १५ दिन सम्म गाउँमा घरबाट पनि कोई मानिस घरबाट बाहिरिदैनथ्यो । घरमा कसैले एकआपसमा कुराकानी गर्दैनथ्यो ।’ अबस्था यति सम्म थियो की उनको किरिया कर्म पनि गाउँमा गर्ने अबस्था थिएन । उनका हजुरबुवा शंकर मिश्रले भारतको गयामा गएर किरिया कर्म गरेका थिए ।




