पर्यटकको प्रचुर सम्भावना बोकेको मधेस प्रदेशको एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज प्रचार प्रसारको अभावमा पर्यटकहरुलाई आकर्षित गर्न सकिएको छैन् ।

पर्याप्त प्रचार प्रसार गरेर पर्यटक अभावमा सुनसान देखिने पर्सा राष्ट्रिय निकुञ्ज भरिभराउ बनाउन शनिवार देखि एक अभियानको थालनी गरिएको छ।




पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै पर्यटकको रोजाइ स्थल बन्ने धेरैले आशा राखेका भए पनि पर्यटक भने आएका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा हुनु पर्ने प्रचार प्रासरको अभावमा राष्ट्रिय निकुञ्जलले पर्यटकलाई आकर्षित गर्न सकेको कारण नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशको आयोजनामा निकुञ्ज कै सभाहलबाट सरोकारबालाहरुको उपस्थितीमा पर्या पर्यटन प्रवर्द्धन अबलोकन तथा प्रचार प्रसार कार्यक्रमको शुभारम्भ गरिएको छ।

यस निकुञ्जको क्षेत्रमा जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन अत्यधिक छ । पर्सा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउन आतुर रहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

यस निकुञ्जमा पर्यटकहरूका लागि ऐतिहासिक हलखोरिया दह, कामिनी दह, घाँसे मैदान लगायत दुई दर्जनभन्दा बढी रमणीय स्थानहरु रहेको निकुञ्ज का प्रमुख संरक्षण अधिकृत साहले बताए ।

२०४० साल (सन् १९८४) मा जंगली हात्तीको बासस्थान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको पर्सा वन्यजन्तु आरक्षलाई २०१७ जुलाई ३ (अषाढ १९, २०७४) मा राष्ट्रिय निकुञ्जमा परिवर्तन गरिएको देशको १२औँ राष्ट्रिय निकुञ्ज हो । यो पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज (एक विश्व सम्पदा स्थल) र दक्षिण-पश्चिमी भागमा भारतको वाल्मीकि टाइगर रिजर्वसँग जोडिएको छ।

मधेस प्रदेश र बागमती प्रदेशको चितवन, मकवानपुर , बारा र पर्सा जिल्लाका केही भागहरू समेटेर पर्सा राष्ट्रिय निकुन्ज फैलिएको छ । यो चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्र हो । ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ । भावर प्रदेश भएको कारण भौगोलिक बनौट छुट्टै प्रकारको छ । नदीनाला सुख्खा देखिन्छन् भने पानी सतह मुनिबाट बग्दछ । चुरेको उच्च भागमा सल्लाका रूखहरू पाइए तापनि ९० प्रतिशत भूमि सालको जंगलले ढाकेको छ र राप्ती नदीको छेउछाउमा सिसौ र खयरका रूखहरू पाइन्छन् ।

केही दशक अगाडिसम्म यो क्षेत्रलाई प्रख्यात चारकोशे झाडी क्षेत्र भनिन्थ्यो र यसलाई प्रमुख शिकारस्थलको रूपमा लिइन्थ्यो । यहाँका प्रमुख जनावरहरू जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि हुन् ।

त्यसैगरी संरक्षित पक्षीहरूमा राज धनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मुजुर, सानो खर मुजुर, सारस तथा अजिङ्गर, सुन गोहोरो छन् । यो निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख वासस्थान मानिने निकुञ्ज जनाएको छ ।

यस निकुञ्जको चुरे पहाडमा प्रसिद्ध महादेव मन्दिर पनि रहेको छ। जहाँ शिवरात्रि र साउन महिनाभर स्थानीय स्वदेशी तथा भारतीय दर्शनार्थीहरूको समेत भीड लाग्ने गरेको छ ।

निकुञ्ज भित्रका वन्यजन्तु देखाउन भित्री मार्ग तयार गरिएको छ। पर्यटक घुमाउन सकिने र उनीहरूका लागि सुरक्षित खान बस्नको व्यवस्थामा विगतभन्दा धेरै अघि बढिसकेको छ ।

यस निकुन्जको लक्ष्य पुरानो चारकोशे जंगलको प्रतिनिधित्व गर्ने वन र वन्यजन्तुको संरक्षण गर्नु हो । निकुन्जभित्रको रामभोरी भाटा बस्ती स्थानान्तरण भएपछि सो क्षेत्रमा गैंडाको विचरण समेथ देखिन थालेको छ । रमौली र प्रतापपुर बस्ती स्थानान्तरण सम्पन्न भएको छ । निकुन्जको आम्दानीबाट मध्यवर्ती क्षेत्रका कार्यक्रमहरू समेत संचालनमा रहेका छन् ।

यस निकुञ्जमा बढीभन्दा बढी पर्यटकको आवागमनको पखाईमा होटल व्यवसायीहरू रहेको छन् । निकुञ्जको स्तरोन्नति भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको होटल तथा पर्यटन महासंघ मधेस प्रदेश का संरक्षक सल्लाहकार युवराज लामाले बताए ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि आवशयक पूर्वाधार सहित वन्यजन्तु विचरण भइरहेको दृश्यावलोकनका लागि विभिन्न स्थानमा टावर निर्माण, जिप सफारी, पैदलयात्रा, हात्ती सफारी आदि सेवा उपलब्ध छन् ।

पर्यटकहरुले जिप सफारी र हात्ती सफारीबाट निकुञ्जमा बाघ र हात्ती सहित चित्तल, जरायो, बँदेल, नीलगाई, चितुवा, भालु लगायतका हेर्न सक्ने व्यवस्था गरिएको छ।

केही वर्षअघिसम्म मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा निकुञ्जप्रति सकारात्मक दृष्टिकोण नभए पनि अहिले यसको संरक्षणप्रति निकै चनाखो र सहयोगी रहेको पाइन्छ ।

निकुञ्जमा घुम्न आउने पर्यटकका कारण त्यहाँका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउने नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतमले बताए ।

हालसम्म निकुञ्जमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य नभए पनि विस्तारै आन्तरिक पर्यटक बढाउने उद्देश्यले एक अभियान थालनी गरिएको अध्यक्ष गौतमले बताए ।




