जनकपुरधाम- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातको अवसरमा सोमवार जनकपुरधाममा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । मधेस प्रदेशकाे खेलकुद तथा समाज कल्याण मन्त्रालयको महिला समुत्थान परियोजनाको आयोजनामा लैगिक हिंसा विरुद्धको क्षेत्रमा कार्यरत सरोकारबाला संघ संस्थाहरु राष्ट्रिय शिक्षा अभियान नेपाल, इन्सेक, पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ लगायतका सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । लैङ्गिक हिंसाविरुद्ध लाग्ने प्रतिवद्धता सहितको र्यालीले जनकपुरधामको जनक चोकबाट सुरु भएर नगर परिक्रमा गर्दै मधेस भवन स्थित खेलकुद तथा समाज कल्याण मन्त्रालय पुगेर कोणसभामा परिणत गरिएको थियो ।

डोमिनिकन गणराज्यमा नोभेम्बर २५ मा तीन जना दिदिबहिनी मारिएपछि सन् १९८१ मा ल्याटिन अमेरिकाबाट मनाउन थालिएको यो दिवस २०५४ सालदेखि नेपालमा मनाइँदै आइएको हो ।यसरी महिलामाथिको ज्यादतीको विरुद्धबाट सुरु भएको अभियान संसरभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मानव अधिकार तथा महिला अधिकारका बारेमा समीक्षा, सूचना तथा शिक्षा दिँदै सञ्चालन गर्ने गरिन्छ । प्रभातफेरी पछि कोणसभालाई खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले लैङ्गिक हिंसा कानुनी रुपमा दण्डनीय भएकाले त्यसको न्यूनीकरणका लागि सचेतनामूलक आवश्यक भएको उनले बताउनु भयो ।




उनले कानुनी व्यवस्थाको बारेमा जानकारी नभएरसमेत हिंसाका घटना भएको जानकारी दिए । उनले हरेक व्यक्ति मानव भएर जन्मेपनि पछि समाजले लैङ्गिक रुपमा विभेद गर्ने जानकारी दिए । उनले लैङ्गिक विभेदलाई चिर्न सरोकारवाला सबैको ऐक्याबद्धता आवश्यक भएको उल्लेख गरे ।

उनले यस अभियान प्रदेशको सबै जिल्लामा आयोजना गरिने र अन्तिम दिन भव्य कार्यक्रमकाबिच मानव अधिकार दिवस मनाइने उल्लेख गरे। प्रभातफेरीमा नागरिक समाज, स्थानीय र प्रदेश सरकार, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो । यसैबीच महोत्तरी जिल्लाको औरही नगरपालिका,बर्दिवास नगरपालिका ,रामगोपालपुर नगरपालिका लगायतका पालिकाहरुमा समेत प्रभातफेरी निकालिएको थियो ।












