प्रकृति संरक्षणको क्षेत्रमा पुर्याएको योगदानका लागि यो वर्षको ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’ चार अनुसन्धानकर्मी र संरक्षणकर्मीलाई प्रदान गरिने भएको छ। १२औँ संस्करणको ‘नेपाल लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१’ को अन्तिम दिन पुरस्कार प्रदान गरिनेछ।
यसपटकको ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’ त्रिभुवन विश्वविद्यालय, काठमाडौंका केन्द्रीय प्राणीशास्त्र विभागका सहायक प्राध्यापक डा. हरिप्रसाद शर्मा, पोखरा (कास्की)का हेमन्त ढकाल, काठमाडौंका पत्रकार अभयराज जोशी र नीलकण्ठ (धादिङ)का भूमिरमण नेपाललाई प्रदान गरिने आयोजकले जनाएको छ। प्रकृति र प्राकृतिक जीव संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएका उनीहरूलाई जनही २५ हजार नगदसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने आयोजक मिथिला वाइल्ड लाइफ ट्रस्ट र ‘प्रकृतिका साथीहरू’ले जनाएका छन्।



त्यस्तै, संस्थागत सम्मान र स्थानीय सम्मानका लागि एक संस्था तीन व्यक्ति सम्मानित हुने भएका छन्। लामो समयदेखि रेडपान्डाको वासस्थान सुधार गर्दै चरा तथा वन्यजन्तु संरक्षणमा योगदान गरेको इलाम जिल्लाका महिलाहरूको समूह ‘जौबारी रेस्टोरेसन समिति’लाई सम्मान गर्न लागेको आयोजक समितिले जनाएको छ। स्थानीय तहमा रहेर प्रकृति, वन्यजन्तु फाेटोग्राफी, पर्या–पर्यटन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका काव्या अस्पताल जनकपुरका सञ्चालक डा. एसके सिंह पनि ताम्रपत्र तथा दोसल्लाले सम्मानित हुने आयोजकले जनाएको छ।
यता नयाँ पत्रिकाका महोत्तरी संवाददाता रञ्जन भण्डारी तथा धनुषाका पत्रकार विजय कुमार साहलाई समेत पत्रकारिताको माध्यमबाट पर्यावरण र वन्यजन्तु संरक्षण तथा पर्या–पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएकोमा सम्मान गरिने भएको छ।




