जीवनराज दाहाल,बर्दिवास – ‘सबैका लागि हामी’ संस्थाले शनिबार बर्दिवासस्थित होटेल पावन मिथिलामा तेस्रो वार्षिक साधारणसभा तथा ‘बर्दिवास वर्ष व्यक्ति सम्मान–२०८१’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेश सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने महासचिव विशाल दर्नालले २०७९ सालमा स्थापना भएको संस्थाले हालसम्म गरेका गतिविधि र २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।



सदस्य रोमन निरौलाले संस्थाले स्थानीय सरकारसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी साझेदारी हुने अपेक्षा व्यक्त गरे। सोही अवसरमा संस्थाको तीन वर्षे यात्रालाई प्रतिबिम्बित गर्ने वृत्तचित्र पनि प्रदर्शित गरिएको थियो।
यसपटकको ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमलाई प्रदान गरिएको हो। यसअघि पहिलो संस्करणमा कृष्णप्रसाद देवकोटा सम्मानित भएका थिए। सम्मान ग्रहण गर्दै गौतमले आफ्नो नेतृत्वकालीन क्रियाकलापलाई कदर गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पर्यटन व्यवसायलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रहरी नायब निरीक्षक सरोज अधिकारीले लागूऔषध नियन्त्रणसम्बन्धी अनुभव सुनाउँदै शुभकामना दिएका थिए भने रोट्याक्ट अध्यक्ष सरोज गजमेर, युवा नेता विनोद ढुङ्गेललगायतले पनि बधाई मन्तव्य राखेका थिए।
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले कार्यक्रममा विशेष उपस्थिती जनाउँदै संस्थाले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै नगरपालिकाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
समापन मन्तव्य दिँदै संस्थाका अध्यक्ष रवि निरौलाले आगामी दिनमा समाजहितका कार्यक्रमलाई अझ सबल र प्रभावकारी बनाउन निरन्तर अग्रसर रहने बताए।
साधारण सभाबाट संस्थाको नयाँ कार्यसमिति पनि सर्वसम्मत निर्वाचित भएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू यसप्रकार छन् ः
अध्यक्ष ः सुनिल साह
उपाध्यक्ष ः दिपेश शापकोटा
महासचिव ः विशाल दर्नाल
सचिव ः इमेश साह सोनार
कोषाध्यक्ष ः मिन बहादुर थापा
त्यस्तै, कार्यसमिति सदस्यहरूमा सन्जित कुमार लामा, अनिता खनाल, युकेश कुमार ठकुरी, सन्तोष भुमिहार, पर्शुराम चौधरी, अशोक गौतम, सागर बस्नेत र बरदानसिंह आले निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वबारे जानकारी संस्थाकी सदस्य अनिता खनाल (अनु) ले दिएकी थिइन्।




