धनुषाका सबै बजारमा बुधबार बिहानैदेखि विश्वकर्मा पूजामा प्रयोग हुने सरसामग्रीको खरिद बेच गर्नेको भीड लागेको छ।
जनकपुरधाम सहित महेन्द्रनगर, ढल्केवर, विरेन्द्रबजार, गोदार, सबैला लगायत प्रत्येक गाउँका बजारमा विश्वकर्मा पूजामा प्रयोग हुने सामग्रीको राम्रो व्यापार भइरहेको हो । विश्वकर्मा पूजामा सवारी साधन, कलकारखाना, उद्योग र मेशिनरी सरसामग्री रहने कार्यालयहरुमा विशेष पूजा गर्ने गरिन्छ ।



बजारमा बिहानैदेखि ध्वजा पतका, सयपत्री फूल तथा प्लाष्टिकका माला, मिठाई, केरा, स्याउ, नरिवल लगायतका फलफूलको राम्रो व्यापार भइरहेको व्यापारीहरुले बताएका छन् । विश्वकर्मा पूजा सामग्री किन्नेहरुको भीडभाडले गर्दा बजारमा मानिसको चहलपहल पनि बढेको देखिन्छ ।

असोज सङ्क्रान्तिका दिन भएकाले प्रविधि र शिल्प सम्बन्धी काम गर्नेहरूले आज विश्वकर्माको पूजा–आराधना गर्ने गर्छन् । सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन् ।
यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ । प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् । विश्वकर्मा खुशी भए उहाँको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरू उहाँको पूजा–आराधना गर्छन् ।
पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठुला वास्तुविद् भएको उल्लेख छ । द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ ।




