महोत्तरी- भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका कारण महोत्तरी र धनुषा जिल्लासहितका नेपाल–भारत सीमावर्ती नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार संयुक्त रूपमा सूचना जारी गर्दै आगामी मङ्गलबार अर्थात् २०८२ साल कात्तिक २५ गते (२०२५ नोभेम्बर ११ तारिख) हुने निर्वाचनलाई दृष्टिगत गर्दै सीमामा शान्ति सुरक्षा व्यवस्थापनका लागि नाका बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।



प्रशासनका अनुसार मिति २०८२ साल कात्तिक २२ गते साँझ ६ः०० बजेदेखि कात्तिक २५ गते साँझ ६ः०० बजेसम्म नेपाल–भारत सीमाका नाकाहरुमा मानवीय तथा आर्थिक गतिविधि पूर्ण रूपमा रोक्ने व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण र निर्वाचन अवधिमा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेका छन् । साथै, सो अवधिमा नागरिकलाई सीमा नाका पार नगर्न अनुरोध गर्दै आवश्यक जानकारी तथा सहयोगका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।




