जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज प्रदेशसभा बैठकमै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका छन् । विश्वासको मतका लागि समय तोकिएकै दिन उनले सदनमा आफ्नो पदत्याग घोषणा गरेका हुन् ।
मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि सदनमै राजीनामा घोषणा गर्दै आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिएका छन् ।



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनललाई गत असोज २९ गते प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । तर, मतदानको दिन जनमत पार्टीका दुई सांसद सतिशकुमार सिंह र त्रिभुवन शाह अनुपस्थित रहेपछि उनको पक्षमा मत संख्यामा कमी देखिएको थियो ।
प्रदेशसभामा सत्ता गठबन्धनमा लोसपाका ८, जसपा नेपालका १८, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र) का ९ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । नागरिक उन्मुक्ति पार्टीले सोनललाई विश्वासको मत दिने निर्णय गरेको भए पनि संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित रहिन् ।
यसैबीच, माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारी र माला राईले सदनमै विद्रोह गर्दै मतदानमा भाग नलिने घोषणा गरेपछि सोनल सरकारको बहुमत गुमेको निश्चित भयो ।
सदनमा उत्पन्न राजनीतिक अवस्थालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले भने, “विश्वासको मत पाउने अवस्था रहेन, त्यसैले म प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने निर्णयमा पुगेको छु ।”
सोनलको राजीनामासँगै मधेश प्रदेश पुनः राजनीतिक अनिश्चिततामा प्रवेश गरेको छ । अब नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच नयाँ समीकरणको प्रयास सुरु हुने अपेक्षा गरिएको छ ।




