जनकपुरधाम । मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले बिहीबार जारी गरेको पाँच जना सांसदको पद रिक्त भएको सूचना बदर गरिएको छ।
उपसभामुख बबिता कुमारी राउत ईशरले नयाँ सूचना जारी गर्दै सभामुखले आफूलाई लक्षित गर्दै लगाइएको महाभियोगपछि प्रतिशोधभावले आवेगमा आएर यस्तो निर्णय गरेको आरोप लगाएकी छन्।
उपसभामुखका अनुसार कार्तिक २२ गते बसेको प्रदेशसभा बैठकका सभामुखले जारी गरेको सूचनामा उल्लेख भएका सांसदहरुको उपस्थिति सूचि र भिडियो फुटेजले ती पाँचै सांसद उक्त बैठकमा उपस्थित रहेको प्रमाणित गरेको हुँदा सभामुखद्वारा जारी सूचना स्वतः बदर भएको छ।



बिहीबार सात दलका ६४ सांसदले सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसको केही समयमै सभामुखले पाँच सांसदको पद रिक्त भएको सूचना सार्वजनिक गरेका थिए।
उपसभामुख राउत सुरक्षा जोखिमका कारण आवास खाली
यसैबीच उपसभामुख राउतले सुरक्षा चुनौती औंल्याउँदै प्रदेशसभा भवनभित्रको आफ्नो आवास खाली गरेकी छन्। हाल सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव दर्ता भएपछि सभामा बढ्दो तनाव, केही सांसद कार्यकक्षमै थुनिएकोजस्ता घटनाले वातावरण संवेदनशील बन्दै गएको कारण उनले यस्तो निर्णय लिएको बताइन्।
उनले भनिन्— ‘प्रदेशसभामा राजनीतिक तनाव अत्यधिक बढेको छ। कार्यालयभित्रै विवाद, थुनेको घटना र हातपातको प्रयासले मलाई समेत असुरक्षित महसुस भयो। सुरक्षा निकायको सुझावअनुसार म भवनभित्रको आवासबाट बाहिरिएको हुँ।’
हाल उनी जनकपुरधामकै निजी निवासमा अस्थायी रूपमा बस्नेछिन्। उनले आफ्नो काम, बैठक तथा जिम्मेवारी भने नियमित रूपमा अवरुद्ध नहुने स्पष्ट पारिन्।
प्रदेशसभामा सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता भएयता सत्ता र प्रतिपक्षबीच विवाद चर्किएको छ। केही सांसद कार्यकक्षमै थुनिएको घटनापछि राजनीतिक वातावरण झनै तातिएको छ।





