शर्मिला घिमिरे
सर्लाही । “नेपाल गौरवको गाथा गाउन चाहन्छ। आत्मनिर्भर भएर विश्वसामु सिर ठाडो पारेर हिँड्न चाहन्छ। यसका लागि युवा शक्तिलाई देशमा नै उचित वातावरण सिर्जना गरी उत्पादनमा जोड दिन विशेष पहल हुनेछन् ।”



सर्लाहीको लालबन्दीमा जिल्ला कार्यकर्ता भेलाका क्रममा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले साे कुरा बताएका हुन् ।
सह संयोजक नेपालले भने, “नेपाली कम्युनिस्ट पार्टी देशकै ठूलो कम्युनिष्ट पार्टी भएको छ। अब युवाहरू एकजुट भएर अगाडि बढ्नुपर्छ भन्दै कर्म र प्रयासलाई निरन्तरता दिइरहनुपर्छ। हिम्मत गरेर अगाडि बढ्ने मान्छे हार खानु पर्दैन ।”
उनले विजय प्राप्त गर्न सङ्घर्ष गर्नुपर्ने र आफूहरुको सिद्धान्तलाई पछाडि पार्न धेरै प्रयास भए पनि अटल आत्मविश्वास र सफा कार्यले सधैँ गाडि बढ्न सहयोग पुर्याएको बताए। उनले सकारात्मक सोच राखी सबै एकजुट भएर अगाडि पढ्नुपर्ने बताए ।
नेता नेपालले जेन्जीको आन्दोलनले देशमा ठूलो परिवर्तन ल्याएको बताउँदै उनीहरूको माग र धारणाप्रति आफूहरूको सक्दो सम्बोधन हुने बताए ।

उनले अब चुप लागेर बस्ने समय नभएको सबै एकजुट भएर राष्ट्र विकासमा जुट्ने समय आएको बताए ।
उनले मङ्सिरको १२ गते सुदूरपश्चिमको धनगढीबाट सुरु हुने देशव्यापी पार्टी एकता सन्देश कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह समेत गरे।
पार्टी एकीकरण पछिको सर्लाहीको पहिलो जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम रहेको जानकारी कार्यक्रमका अध्यक्ष अचुतम काफ्लेले गराए ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तेस्रो मर्यादा क्रमका नेता महेन्द्र राय यादव ,केन्द्रीय नेतृत्व रामकुमार भट्टराई , प्रल्लाद बुढाथोकी, नागेन्द्र चौधरी जस्ता नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो





