काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भए पनि उनीहरूको प्यानलमा अरु को अटाउँछन् भन्ने स्पष्ट भएको छैन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘ब्याकअप’ र बलियो सांगठनिक पकडसहित पोखरेलले अध्यक्ष ओलीलाई चुनौती दिने तयारी थालेपछि एमालेभित्र नयाँ ध्रुवीकरण सुरु भएको छ।



अध्यक्ष पदमा ओली र पोखरेलको उम्मेदवारी करिब निश्चित देखिए पनि यतिबेला दुवै समूहका लागि ‘महासचिव’ को उम्मेदवार चयन सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । अध्यक्षपछिको शक्तिशाली कार्यकारी पद मानिने महासचिव हत्याउन दुवै समूहमा ‘हेभीवेट’ नेताहरूको रस्साकस्सी चलेको छ ।
११औँ महाधिवेशनको परिदृश्य हेर्दा अध्यक्षमा ओली र ईश्वरको लडाइँ जति रोचक हुने देखिन्छ, त्योभन्दा बढी पेचिलो रस्साकस्सी महासचिवसहित अन्य पदाधिकारीको पदमा हुने एमाले नेताहरू बताउँछन् ।
ईश्वरको ‘कोर टिम’ र महासचिवको खोजी
अध्यक्ष ओलीविरुद्ध प्यानल नै बनाएर मैदानमा उत्रिने तयारीमा रहेका ईश्वर पोखरेलको पक्षमा एमालेका पुराना र प्रभावशाली नेताहरू खुलेका छन् । वर्तमान उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट पोखरेल क्याम्पमा स्पष्ट रूपमा देखिएका छन् ।
पोखरेल समूहले अध्यक्षपछिको कार्यकारी ‘कमान्ड’ सम्हाल्ने महासचिव पदमा लोकप्रिय र युवा अनुहारलाई अघि सार्ने रणनीति बनाएको छ । यस दौडमा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टको नाम अग्रपंक्तिमा छ ।
यी दुईमध्ये एकलाई महासचिव बनाएर ओली समूहलाई रक्षात्मक बनाउने दाउमा पोखरेल समूह छ । यद्यपि, समीकरण मिलाउनुपर्ने अवस्था आएमा अन्तिम समयमा उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई महासचिवको रूपमा अघि सार्ने ‘कार्ड’ पनि सुरक्षित राखेको छ ।
पोखरेलपक्षबाट महासचिवमा नामैनाम भए पनि आफूलाई ‘हुनैपर्छ’ भन्ने लाइनमा नेताहरू नरहेको निकट स्रोत बताउँछ ।
महासचिवमा बन्न सक्रिय पूर्वक लागिरहेका योगेश भट्टराई उपमहासचिव उठ्नुपर्ने स्थिति आए पनि उठ्ने र गोकर्ण विष्ट पनि सचिव दोहोर्याउन वा उपाध्यक्ष उठ्न तयार रहेको नेताहरूको दाबी छ । र, सुरेन्द्र पाण्डे पनि हालकै उपाध्यक्ष पदमा उठ्न तयार रहेको स्रोत बताउँछ ।
ओली समूहका पृथ्वीसुब्बामाथि पोखरेलको नजर
एमालेको राजनीतिमा निर्णायक मानिने गण्डकी प्रदेश र जनजाति मतको प्रतिनिधित्व गर्ने वर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यतिबेला दुवैपक्षको तानातानमा छन् । ओली समूहमा आफ्नो उचित व्यवस्थापन नहुने र महासचिव नपाउने संकेत पाएपछि गुरुङ असन्तुष्ट रहेको बुझिएको छ ।
यही असन्तुष्टिलाई ‘क्यास’ गर्दै पोखरेल समूहले गुरुङलाई आफ्नो पक्षको महासचिव बनाउने लबिङ तीव्र पारेको छ ।
पोखरेल समूहनिकट एक केन्द्रीय सदस्यले नेपालभ्युजसँग भने, ‘ओली कमरेडको समूहमा आकांक्षी धेरै हुँदा पृथ्वीसुब्बा कमरेडको व्यवस्थापन जटिल छ । उहाँले महासचिवको आकांक्षा राख्नुभएको छ, र उहाँलाई उचित स्थान दिएर यता ल्याउने प्रयास चलिरहेको छ ।’
ओलीलाई सकस : शंकर कि प्रदीप ?
यता, अध्यक्षको भिडन्तमा शक्तिशाली मानिएका वर्तमान अध्यक्ष ओलीलाई पनि आफ्नो समूहबाट महासचिव छान्न सकस परेको छ । ‘विद्या-ईश्वर’ गठबन्धनको दबाबका कारण ढुक्कले चुनाव जित्ने र आफूप्रति पूर्ण बफादार पात्रलाई मात्र महासचिव बनाउनुपर्ने बाध्यता ओलीलाई छ ।
ओली समूहभित्र महासचिवका लागि मुख्य दुई दाबेदार छन्-वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली । वैचारिक नेताका छवि बनाएका शंकर पोखरेल, ओलीका विश्वासपात्र नेता हुन् । १०औँ महाधिवेशनमा ओलीसँगै महासचिव जितेका पोखरेललाई नै ओलीले पुनः दोहोर्याउन चाहेका छन् ।
त्यस्तै, प्रदीप ज्ञवाली पनि एमालेभित्र बौद्धिक छवि र मिजासिलो स्वभावका मानिन्छन् । पछिल्लो समय ओलीको पक्षमा दिलोज्यान दिएर लागेका ज्ञवालीले ओलीको विश्वास जितेको चर्चा एमालेभित्र छ । गत भदौमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदन ज्ञवालीले वाचन गरेपछि उनलाई भावी महासचिवको रूपमा हेर्न थालिएको थियो।
२०७८ को पहिलो विधान महाधिवेशनमा प्रतिवेदन वाचन गर्न दिएर ओलीले शंकर पोखरेललाई महासचिवको ग्रिन सिग्नल दिएका थिए । र, चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा ओलीले पोखरेललाई महासचिव बनाएका थिए ।
यस्तो परिस्थिति देखेका ओलीपक्षका नेताहरू ज्ञवालीलाई ओलीले महासचिव बनाउने अनुमान गर्छन् । ज्ञवालीलाई विधान अधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्न दिएकाले पनि ओलीको रोजाइ फेरिएको हो कि भन्ने विश्लेषण पनि हुन थालेको छ ।
तर, ओलीको समूहबाट महासचिव वा अन्य पदाधिकारी को-को हुने भन्ने विषयमा स्वयं ओलीले समेत मुख खोलेका छैनन् । आफ्ना पक्षका पदाधिकारीहरू व्यवस्थापन गर्न दबाबमा रहेका ओलीले अन्तिम समयमा मात्र टिम सार्वजनिक गर्ने ओली समूहमा देखिएका एक पदाधिकारीका आकांक्षी बताउँछन् ।
त्यसो हुँदा पनि आकांक्षी धेरै छन् । कसैलाई बढुवा गर्नुपर्ने छ । यसअघि स्थायी समिति र पोलिटब्युरोमा रहेका र लामो समय काम गरेका नेतालाई पदाधिकारी बनाउनुपर्ने दबाब उनीमाथि छ । यस्तो अवस्थामा महासचिव छान्न ओलीलाई कठिन देखिन्छ।
‘कोशी प्रदेशमै सचिवका ५ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । त्यहाँबाट को ल्याउने भन्नेछ । त्योभन्दा ठूलो सकस महासचिवको हो’, ती नेताले भने, ‘मलाई लाग्छ ओली कमरेडले आफ्नो टिमको फाइनल अन्तिम समयमा मात्र तय गर्नुहुन्छ । वा पदाधिकारीको संख्या बढाउने प्रस्ताव लिएर आउन पनि सक्नुहुन्छ ।’
ती नेताले भने जस्तै एमालेको संशोधित विधानअनुसार हाल १९ सदस्यीय पदाधिकारीबाट घटाएर १५ जना मात्र रहने व्यवस्था गरिएको छ । गएको भदौमा भएको विधान अधिवेशनले वरिष्ठ उपाध्यक्ष हटाएको थियो, भने केही पदाधिकारीको संख्या घटाएको थियो ।
आफ्नो टिमलाई व्यवस्थापन गर्न ओलीले फेरि १९ सदस्यीय पुरानै पदाधिकारी कायम राख्ने गरी प्रस्ताव ल्याउन सक्ने आकलन पनि गरिएको छ । वरिष्ठ उपाध्यक्ष पद व्युँताएर विष्णु पौडेललाई व्यवस्थापन गर्ने, अनि आफ्नो टिमलाई थप शक्तिशाली बनाउने तयारीमा ओली रहेको ईश्वरपक्षका एक नेता बताउँछन् ।
‘१० भाइ’ फ्याक्टर र ओलीको चुनौती
विगतमा माधव नेपाल समूह छोडेर एमालेमै बसेका (१० भाइ) मध्येका अधिकांश नेताहरू अहिले ईश्वर पोखरेलको कित्तामा उभिएका छन् । यसले ओलीलाई थप दबाब सिर्जना गरेको छ ।
महासचिवमा शंकर पोखरेललाई दोहोर्याएमा प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको व्यवस्थापन कसरी गर्ने ? अनि यदि पृथ्वीसुब्बालाई महासचिव नदिँदा उनी ईश्वर क्याम्पमा गए भने त्यसले पार्ने असरलाई कसरी रोक्ने ? यी प्रश्नहरूले ओली क्याम्पमा बहस बढाएको छ ।
ओली समूहका एक पुराना नेता भन्छन्, ‘ईश्वर कमरेडको टिम बलियो बन्दै गएको । आउँदो महाधिवेशन पहिलेको जस्तो सर्वस्वीकार्य हुँदैन । प्रतिस्पर्धा राम्रै हुन्छ । त्यसैले ओलीजीले महासचिव छान्दा धेरै हिसाबकिताब गर्नुपर्ने देखिन्छ ।’




