नरेन्द्र महताे- गौशाला,महाेत्तरी
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी ५१३ जना नागरिक औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
कार्यक्रममा नवप्रवेशी वक्ताहरूले काङ्ग्रेस, एमाले तथा नेकपा जस्ता पुराना पार्टीहरूले जनताको पक्षमा काम गर्न नसकेको, भ्रष्टाचार मौलाएको, कानुनको धज्जी उडाइएको र रोजगारीको सुनिश्चितता गर्न असफल भएकाले आफूहरू नयाँ राजनीतिक विकल्पको खोजीमा रास्वपा प्रवेश गरेको बताएका थिए।
नवप्रवेशीहरूका अनुसार नयाँ सोच, इमानदार राजनीति र जनताको पक्षमा उभिने स्पष्ट एजेन्डा बोकेको पार्टी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढेको हो। उनीहरूले अबको राजनीति सेवा, सुशासन र पारदर्शितामा आधारित हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी गौशाला नगर कमिटीको तर्फबाट नवप्रवेशी सबैलाई हार्दिक स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरिएको छ। पार्टीका स्थानीय नेताहरूले ५१३ जनाको एकैपटक सहभागिताले संगठनलाई थप सशक्त बनाएको बताएका छन्।
कार्यक्रममा बोल्दै नेताहरूले अब सबै मिलेर गौशाला नगरमा सुशासन, पारदर्शिता र विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। परिवर्तनको यो यात्रामा नवप्रवेशी सदस्यहरूको भूमिका महत्वपूर्ण रहने पनि उनीहरूको भनाइ थियो।
उक्त प्रवेश कार्यक्रम नगर सभा ज्ञानेन्द्र गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो।


