काठमाडौँ – मधेसकेन्द्रित दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा सिट बाँडफाँडको तयारीमा छ । हाल चार दल रहेको मोर्चाले विगतको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको सामना गर्दै आइरहेका थिए, तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उसका लागि अर्को चुनौती थपिएको छ ।
मधेसमा रास्वपाले ‘घण्टी बजाइरहेछ’, जुन मधेसवादी दलका लागि खतराको ध्वनि हो । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल सद्भावना पार्टीलगायत दलको आधारक्षेत्र भनेकै मधेस प्रदेश मात्र हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने नेपालको पश्चिमी क्षेत्रमा बलियो मानिन्छ ।



आजभोलि लोकतान्त्रिक मोर्चाको बैठकमा रास्वपाबारे चर्चा हुन थालेको छ । आगामी दिनमा मधेसमा रास्वपाले के गर्ला ? कति सिट जित्ला ? उसको कारण हाम्रो अवस्था के होला ? बैठकमा यस्तै यस्तै कुराकानी हुने गरेको छ, जसको कारण अन्य पुराना ठुलाजस्तै मधेसकेन्द्रित दलहरू पनि कतै रक्षात्मक अवस्थामा त पुगेका छैनन् ? प्रश्न उठ्न थालेको छ ।
जेनजी आन्दोलनपछि रास्वपाको माहौल हेर्दा ऊ थप शक्तिशाली हुँदै गएको देखिन्छ, पार्टीका गतिविधिहरू बढेका छन्, त्यसमाथि सभापति रवि लामिछाने हिरासत मुक्त भएसँगै र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पार्टीमा भित्र्याएसँगै देशमा एकखाले ‘रास्वपा लहर’ चलेको छ । अधिकांश जेनजी पुस्ताका नेताहरू रास्वपा प्रवेश गरिरहेका छन्, अन्य ठुला दलहरू त्यागेर रास्वपा प्रवेश गर्ने केन्द्रीयस्तरका नेताहरू पनि बढ्न थालेका छन् ।
- रास्वपा नै मुख्य प्रतिस्पर्धी
रास्वपाको यो लहर र चर्चाले मधेसमा पनि मुख्य प्रतिस्पर्धी दल रास्वपा नै देखिएको छ । लोकतान्त्रिक मोर्चाले पनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले, कांग्रेस, नेकपाभन्दा रास्वपासँग नै प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ ।
जेनजी आन्दोलनपछि त्यो सम्भावना झन् बढेको एक नेता नै स्विकार्छन् । जसपा नेपालका एक नेता भन्छन्, ‘विगतभन्दा यसपालि मधेसमा हाम्रो स्थिति राम्रो बन्दै गइरहेको थियो, तर जेनजी आन्दोलनपछि अलिकति चुनौती थपिदिएको छ ।’ घण्टीको हल्ला अलि बढी नै रहेकोले प्रतिस्पर्धा रास्वपासँग नै हुने अवस्था सिर्जना भएको उनले बताए ।
गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो हुँदा एमाले दोस्रो, तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र थियो । अर्थात्, मधेसवादी दलहरूको मुख्य प्रतिस्पर्धा ठुला दलहरूसँग थियो ।
मधेस प्रदेशमा पहिलो दल एमाले, त्यसपछि कांग्रेस बनेको थियो, त्यसपछि मधेसवादी दलहरूकै शक्ति थियो । यसअर्थमा बुझ्न सकिन्छ, मधेसवादी दलहरूको मुख्य प्रतिस्पर्धा ठुला दलहरूसँगै भएका थिए, तर यसपटक रास्वपालाई उनीहरूले प्रमुख प्रतिस्पर्धी मानेका छन् ।
तर राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष कौशलकुमार सिंह भने यसपालिको चुनावमा पनि अघिल्लो निर्वाचनबाट ठुला भएका दलहरूसँग नै आफूहरूको प्रतिस्पर्धा रहने बताउँछन् । ‘रास्वपाको हल्ला बढी छ, चर्चा हुन्छ, तर त्यो दलका उम्मेदवार पनि छैनन्, संगठन पनि छैन अनि कसरी कहाँबाट चुनावमा प्रतिस्पर्धा हुन्छ ?’ रास्वपालाई कम आँक्दै उनले भने ।
हल्ला र चर्चाले केही सिट जित्न सकिए पनि प्रतिस्पर्धा गर्नेगरी रास्वपा आउन नसक्ने उनको ठहर छ । ‘यसअघिको निर्वाचनमा पनि रास्वपाको चर्चा थियो, तर मधेसमा एउटा पनि सिट ल्याउन सकेन, न त प्रतिस्पर्धामा नै थियो,’ उनी भन्छन्, ‘तर यसपटक अवस्था अलि फेरिएकाले केही सिट ल्याउन सक्ला, तर मुख्य प्रतिस्पर्धा उनीहरूसँग हुँदैन ।’
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मधेसको भूगोलमा रास्वपा कमजोर नै देखिएको थियो । मधेसका ३२ निर्वाचन क्षेत्रमा उसका कुनै पनि उम्मेदवार निकटतम प्रतिस्पर्धीसम्म हुन सकेका थिएनन्, यद्यपि केही निर्वाचन क्षेत्रबाट उल्लेख्य रूपमा समानुपातिक मत भने बटुलेको थियो । धेरै उम्मेदवारहरूको जमानत नै जफत भएको थियो ।
मधेस प्रदेशमा रहेका कुल मतदाताअनुसार हिसाब गर्दा रास्वपाले २०७९ मा ल्याएको मत एक प्रतिशतभन्दा कम थियो । मधेस प्रदेशमा रहेका ३३ लाख ८६ हजार ६२८ मतदातामध्ये रास्वपाले ३२ हजार ५३७ मत मात्र पाएको थियो । समानुपातिकमा भने एक लाख सात हजार ८४ मत ल्याएको थियो, यद्यपि अन्य क्षेत्र र प्रदेशसँग तुलना गर्दा यो सन्तोषजनक मत भने होइन ।
सप्तरीमा चारवटै क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले त्यहाँ दुई हजार ७४ मत मात्र ल्याएको थियो । क्षेत्र नम्बर ४ मा मो. इरफान आलम दसौँ स्थानमा थिए भने क्षेत्र नम्बर १ र ३ मा क्रमशः निरञ्जनप्रसाद कुशवाहा र प्रमोदकुमार साह नवौँ स्थानमा थिए । सप्तरी २ मा बरुणकुमार झाले २८१ मत ल्याएर चौथो स्थानमा सीमित भएका थिए ।
सिरहामा दुई हजार ४५० मत ल्याएको रास्वपाले क्षेत्र नम्बर १ मा रामकुमार यादव छैटौँ स्थानमा थिए, क्षेत्र नम्बर ३ का दीपकुमार साह पाँचौँ स्थानमा र क्षेत्र नम्बर ४ का विमलकुमार तिवारी चौथो स्थानमा थिए ।
रास्वपाले धनुषाको चारवटै क्षेत्रमा उम्मेदवारी दिए पनि त्यहाँ पनि दुई हजार १६४ मतमा सीमित भएको थियो । धनुषा–२ मा चन्द्रशेखरकुमार यादव २४६ मत ल्याएर आठौँ स्थानमा सीमित भएका थिए भने धनुषा–१ र ४ मा क्रमशः धर्मेन्द्रकुमार राय र सञ्जयकुमार यादव पाँचौँ स्थानमा सीमित थिए । धनुषा–३ मा रञ्जित पञ्जियारले ४३३ मत ल्याएर छैटौँ स्थानमा चित्त बुझाएका थिए ।
महोत्तरी, जुन मेयर बालेन साहको जन्मघर हो, त्यहाँबाट रास्वपाले मात्र दुई हजार ४२४ मत ल्याएको थियो । त्यहाँ दुई वटा क्षेत्रमा मात्र रास्वपाले उम्मेदवारी दिएको थियो । त्यसमा महोत्तरी–१ मा खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत ल्याएर पाँचौँ स्थानमा सीमित भएकी थिइन् । क्षेत्र नम्बर २ का पवनकुमार झाले त ३६० मत मात्र ल्याएका थिए ।
रास्वपाले सर्लाहीबाट भने सात हजार ७०४ मत प्राप्त गरेको थियो । त्यहाँ रास्वपाले चारवटै क्षेत्रमा उम्मेदवार उठाएको थियो । क्षेत्र नम्बर १ बाट रामदुलार महतो तीन हजार २५३ मत ल्याएर पाँचौँ स्थानमा सीमित भएका थिए । क्षेत्र नम्बर २ का जयकरण महतोले ५७९ मत ल्याएर आठौँ स्थानमा, क्षेत्र नम्बर ३ बाट पञ्चबहादुर स्याङ्तानले सबैभन्दा बढी तीन हजार ५६६ मत ल्याएर चौथो र क्षेत्र नम्बर ४ बाट धीरजकुमारले ३०६ मत ल्याएर नवौँ स्थानमा सीमित भएका थिए ।
त्यस्तै, रास्वपाले रौतहटमा तीन वटा क्षेत्रमा उम्मेदवारी दिएर तीन हजार ४५ मत प्राप्त गरेको थियो । त्यसमध्ये क्षेत्र नम्बर १ का सूर्यदेवप्रसाद कोइरालाले १६३ मत ल्याएर दसौँ स्थानमा पुगेका थिए ।
क्षेत्र नम्बर ३ मा नवीनप्रसाद चौरसियाले एक हजार ६ मत र क्षेत्र नम्बर ४ मा राजनारायण साहले एक हजार ८७६ मत ल्याएर पाँचौँ स्थानमा सीमित भएका थिए ।
मधेस प्रदेशका आठ जिल्लामध्ये रास्वपाले सबैभन्दा बढी मत बाराबाट (१० हजार ७८२) मत ल्याएको थियो, जसमध्ये क्षेत्र नम्बर १ मा गणेश धितालले तीन हजार ३१९ मत ल्याएर तेस्रो स्थानमा आएका थिए । क्षेत्र नम्बर ३ मा सुरेन्द्र शर्माले तीन हजार ५७९ मत र क्षेत्र नम्बर ४ मा पवन चौधरीले तीन हजार ८८४ मत ल्याएर दुवै जना चौथो स्थानमा सीमित थिए ।
रास्वपा सबैभन्दा कमजोर पर्सामा देखिएको थियो । रास्वपाले त्यहाँ दुई वटा क्षेत्रमा मात्र उम्मेदवारी दिएको थियो, जसबाट एक हजार ८९४ मत ल्याएको थियो । क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका दीपराज पटेलले ९७१ मत ल्याएर चौथो र क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका अशोक कँडेलले ९२३ मत ल्याएर पाँचौँ स्थानमा सीमित भएका थिए ।
अर्थात् विगतको निर्वाचन केलाउँदा रास्वपा मधेसवादी दलहरूसँग कतै पनि प्रतिस्पर्धामा देखिँदैन । तर जेनजी आन्दोलन र त्यसपछिको अवस्थाले मधेसकेन्द्रित मात्र नभई समग्र देशमै रास्वपा मुख्य प्रतिस्पर्धी बन्ने देखिएको छ, यसकै कारण पनि हुन सक्छ मधेसवादी दलहरू पनि एकीकृत भइरहेका छन् ।




