महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१२ प्रडियामा बुधबार राति मोटरसाइकल र मोबाइल लुटपाट घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति करिब साढे आठ बजे गौशाला–१२ का स्थायी बासिन्दा विषेश्वर सिंह कुशवाहा ज ५ प ४३२४ नम्बरको डिस्कोभर मोटरसाइकल चलाउँदै घर फर्किंदै गर्दा सुनसान स्थानमा स्थानीय तीन जना युवाले बाटो छेकी मोटरसाइकल रोकेर पछाडिबाट फलामको रड प्रहार गरेका थिए। अचानक भएको आक्रमणबाट कुशवाहा गम्भीर घाइते भई सडकमा ढलेका थिए।



आक्रमणपछि लुटेराहरूले कुशवाहाको मोटरसाइकल र एक थान मोबाइल फोन लुटी फरार भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला मातहत प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो।
खोजतलासका क्रममा आज बिहान गौशाला नगरपालिका–१२ र सर्लाही जिल्लाको सिमानामा रहेको जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा १८ वर्षीय निर्मल साह सोनार १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष रामलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभयो।
पक्राउ परेका तीनै जना गौशाला नगरपालिका–१२ कै स्थायी बासिन्दा रहेको र उनीहरूलाई इलाका प्रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते कुशवाहाको उपचार भइरहेको छ।घटनापछि गौशाला क्षेत्रमा रात्रीकालीन सुरक्षाप्रति चिन्ता बढेको भन्दै स्थानीयवासीले प्रहरी गस्ती थप प्रभावकारी बनाउन माग गरेका छन्।




