मुस्लिम समुदायको रमजान पर्व सुरू भएको छ । अघिल्लो दिन रातिदेखि भोलिपल्ट बिहान सूर्योदय भन्दा पहिले सेहरी (रातिको खाना) खाएर इस्लाम धर्मावलम्बीहरूले रमजानको व्रत बस्छन् । यो पर्वमा एक महिनासम्म रोजा अर्थात् व्रत बस्ने गरिन्छ ।
रमदान पनि भनिने रमजान इस्लामिक महिनाको नाम हो । उर्दू, अरबी, फारसी सबैको इस्लामी क्यालेन्डर अनुसार यो नवौं महिना हो ।
धर्मिक मान्यता अनुसार यो महिनामा मुस्लिम समुदायको धार्मिक ग्रन्थ कुरान अवतरण भएको मानिन्छ । यही कुरानमा गरिएको छ– रोजाको चर्चा । यो महिनामा धार्मिक ग्रन्थ कुरान वाचन गर्नु पुण्यको काम मानिन्छ । रमजान अवधिमा पाँच पटकको नमाजका साथै एउटा विशेष नमाज पढिन्छ । जसलाई ‘तरावीह’ को नमाज भनिन्छ ।



कुरानमा यो पर्वमा मुस्लिम समुदायले एक महिना व्रत बस्नुपर्ने उल्लेख छ । अल्लाह (भगवान) ले नै एक महिना व्रत बस्न हुकुम (आदेश) दिएको विश्वास गरिन्छ । अल्लाहले कुरान मार्फत एक महिना व्रत बस्ने आदेश दिएको धार्मिक अगुवाहरु बताउँछन् । यो आदेश कुरानको सुरा–ए–बक्रराहको आयात नम्बर १८५ मा दिइएको छ । त्यही कारण रमजान पर्वमा एक महिना व्रत बस्ने गरेको बताइन्छ ।
धर्मिक जानकारहरूका अनुसार रोजा फारसी शब्द हो, जसलाई नेपालीमा उपवास भनिन्छ । अरबीमा उपवासलाई भने माह–ए–सियाम भनिन्छ । रमजानको महिना कहिले २९ दिन त कहिले ३० दिनको हुन्छ । नेपाल र भारतका मुस्लिम समुदायमा फारसी प्रभाव बढी परेकाले उपवासको फारसी शब्द रोजा नै बढी प्रयोग हुने गर्छ ।
मुस्लिम समुदायको रमजान महिनामा रोजा बस्नु (फर्ज) कर्तव्य मानिन्छ । रमजान इस्लाम धर्मको पाँच पिल्लरमध्ये एक हो । यसको पाँच पिल्लरमा कल्मा (श्लोक), नमाज, रोजा, जकात र हज पर्छन् । जसमध्ये एक रोजा हो । अर्थात् गर्नैपर्ने काम हो यो । यो व्रत बस्दा मरेपछि जन्नत (स्वर्ग) मा जान पाइने मान्यता छ । अर्को शारीरिक रूपमा पनि रोजाका फाइदा छन् । मुख्यतः व्रत बस्दा कुलत बानी छुट्ने गर्छ । जाँड-रक्सी, चोरी, चुरोट, सुर्ती जस्ता पदार्थ सेवन गर्नु रोजामा वर्जित गरिएको हुन्छ, जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
मौलानाहरुका अनुसार गलत कामबाट बचाउने माध्यमको रुपमा यसलाई लिइन्छ । उनीहरु भन्छन्, ‘किनकि एक महिना व्रत बस्दा सबै खराब बानी त्याग्नुपर्छ, मन शुद्ध हुन्छ । जसले गर्दा राम्रो काम गर्ने बानी नै बस्छ । अनि पछि गएर मान्छे कुलत बानी हटछ ।’ रमदान महिनाको मुख्य उद्देश्य भनेको निराहार व्रत राखी सधैं अनुशासित ढंगबाट जीवन बिताउनु रहेको मौलानाहरूको भनाइ छ ।
चन्द्रमा किन हेरिन्छ ?
मुस्लिम समुदायले चाँद अर्थात् चन्द्रमा हेरेर यो पर्वको व्रत बस्न थाल्छन् । इस्लामिक महिना चन्द्रमा देखेपछि सुरू हुने भएकाले समयको गति नाप्ने माध्यम यसलाई मानिन्छ ।
महिनाको समापन पनि चन्द्रमाकै गति हेरेर गरिन्छ । त्यही भएर रमजान महिना सुरू भयो भनेर जान्न चन्द्रमा हेरिन्छ, यही देखेर यो पर्वको सुरुवात पनि हुन्छ । महिनाको समाप्ति पनि अन्त्यमा चन्द्रमामा हेरेर नै हुने भएकाले ३० औं दिनमा चन्द्रमा पुनः हेरिन्छ । महिना समापन भएको भेउ पाउन चन्द्रमा देखिने गरिएको बताइन्छ । मुख्यतः यही कारणले चन्द्रमा हेर्ने गरेको धर्मका जानकारहरु बताउँछन् ।
रोजा क-कसले गर्ने ?
धर्मको नियमानुसार बालिग व्यक्तिलाई रोजा बस्न अनिवार्य गरिएको छ । यसबारे धार्मिक ग्रन्थमा भनिएको छ, ‘बालिग अर्थात् स्वप्नदोष र रजस्वला भइसकेकालाई मान्नुपर्छ । यो भइसकेका मुस्लिम बालबालिकाहरुलाई रोजा बस्नु अनिवार्य हो । तर नाबालकलाई भने छुट दिइएको छ ।
यसैगरी रोगी, सिकिस्त बिरामी, गर्भवती र रजस्वला भएका महिलालाई त्यो पाँच दिनसम्म भने छुट दिइएको छ । यसैगरी यात्रा गर्दा बिरामी भएको अवस्थामा पनि रोजा बस्न अनिवार्य गरिएको छैन । तर यीमध्ये कुनै एक कारणवश व्रत बिचमा ब्रेक भयो भने पछि आफूलाई पायक हुने महिनामा त्यसको साटो व्रत बसेर सट्टा भर्ना गर्ने नियम छ ।
रमजान महिनालाई मुस्लिम समुदायमा पवित्र महिना मानिन्छ । यो महिनामा सबैले अल्लाहको विशेष प्रार्थना गर्ने गर्छन् । रमजान अवधिभर बढी भन्दा बढी समय खर्चेर अधिकांशले कुरान र दिनमा पाँचपटक नमाज पढ्ने गर्छन् । अन्य महिना भन्दा रमजानमा ७० गुणा बढी सबाब (पुण्य) पाइने धार्मिक मान्यता छ । त्यसैले सबैको ध्यान बढी पुण्य कमाउनेतर्फ केन्द्रित रहन्छ ।
व्रत बस्दा नमाज वाचनले बलियो बनाउने विश्वास गरिन्छ । रोजा अवधिभरि नै व्रत बस्नेहरु शुद्ध रहनुपर्ने कडा नियम छ । व्रत बस्नेहरु यो अवधिमा अश्लील गफ मात्रै नभई नाचगान सहित कुनैपनि मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन नपाइने कडा नियम छ ।
मुस्लिम समुदायमा यो महिनालाई दानपुण्य गर्ने महिनाको रुपमा लिने मान्यता छ । यो महिनामा अरूलाई सहयोग गरे त्यसको ७० गुणा बढी पुण्य पाइने धार्मिक मान्यता छ । रमजान महिनामा मुस्लिम समुदायले एक रुपैयाँ खर्च गर्यो भने उसले ७० रुपैयाँ खर्च गरे सरहको फल पाउने विश्वास छ ।
त्यसैकारण आफ्नो क्षमता अनुसार सबैले रोजाको समयमा दीनदुःखीलाई खाना खुवाउने, लत्ताकपडा दिने, तथा आर्थिक सहयोग गर्ने गर्छन् । यो महिनामा अझ रोजादार (व्रतालु )लाई इफ्तार गराए गुनाह (पाप) बाट छुट्कारा पाउने धार्मिक विश्वास छ । यसैगरी रमदानमा जकात, सदका, फित्रा भनेर केही रकम निकाल्ने धार्मिक नियम छ । वर्षभर आफूले कमाएको सम्पत्तिबाट अढाई प्रतिशत रकम निकाल्नुपर्ने धार्मिक ग्रन्थमा भनिएको छ । रमजानको अन्तिम दिन इदुल–फित्रको नमाज पढेर यसको समापन गरिन्छ, जसलाई चलनचल्तीको भाषामा इद भनिन्छ ।




