धनुषा । मधेश प्रदेशमा डिजिटल पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले धनुषाको ढल्केबरमा दुईदिने समाचार लेखन तथा सम्पादन सम्बन्धी व्यावसायिक तालिम मंगलबारदेखि सुरु भएको छ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सञ्चालन भएको उक्त तालिममा प्रदेशका आठवटै जिल्लाबाट अनलाइन सञ्चारमाध्यममा सक्रिय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको छ।



तालिममा सहभागी पत्रकारहरूले दुई दिनसम्म समाचार लेखनका आधारभूत सिद्धान्त, समाचार संरचना, भाषा र शैली, सम्पादन प्रक्रिया तथा व्यावसायिक पत्रकारिताका व्यवहारिक पक्षबारे प्रशिक्षण लिनेछन्। विशेषगरी डिजिटल प्लेटफर्ममा समाचार प्रस्तुत गर्दा अपनाउनुपर्ने मापदण्ड, तथ्यमा आधारित रिपोर्टिङ र विश्वसनीय सामग्री उत्पादनका उपायहरूमा जोड दिइने आयोजकले जनाएको छ।
तालिम उद्घाटन गर्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले वर्तमान राजनीतिक व्यवस्था पनि सञ्चार क्षेत्रकै योगदानबाट स्थापित भएको स्मरण गर्दै पछिल्लो समय निजी मिडियालाई कमजोर बनाउने प्रयासप्रति चिन्ता व्यक्त गर्नुभयो ।
“लोकतन्त्रको रक्षा, पारदर्शिता प्रवर्द्धन र जनउत्तरदायित्व सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य छ,” मन्त्री यादवले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्ण तथा मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्दै पत्रकारितामा गुणस्तर, विश्वसनीयता र उत्तरदायित्व अभिवृद्धि गर्न यस्ता तालिम अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो ।
तालिमका मुख्य सहजकर्ता धर्मेन्द्र झाले डिजिटल पत्रकारिताको बढ्दो प्रभावसँगै तथ्य जाँच (फ्याक्ट–चेक), स्रोतको विश्वसनीय प्रयोग र सन्तुलित प्रस्तुति अत्यावश्यक रहेको बताउनुभयो। उहाँले सहभागी पत्रकारहरूलाई समाचारको संरचना निर्माण, तथ्यपरक प्रस्तुति, स्रोत व्यवस्थापन तथा सम्पादनका व्यवहारिक सीपबारे प्रशिक्षण दिनुहुनेछ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेशमा कार्यरत सञ्चारकर्मीहरूको पेशागत हकहित संरक्षण र क्षमता विकासका लागि प्राधिकरणले विभिन्न योजनाहरू अघि बढाएको जानकारी दिनुभयो। उहाँको अनुसार ती योजनाहरू चालु आर्थिक वर्षभित्रै कार्यान्वयन गर्ने तयारी भइरहेको छ।
खड्गाले मधेश प्रदेशमा सञ्चार क्षेत्रको तीव्र विस्तार भइरहेको उल्लेख गर्दै हालसम्म जनकपुरधामस्थित प्राधिकरणमा १०४ वटा सञ्चारमाध्यम दर्ता भइसकेको जानकारी दिनुभयो। उहाँले दर्ता भएका तथा नयाँ सञ्चारमाध्यमलाई व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन प्राधिकरण सक्रिय रहेको बताउनुभयो।
उक्त तालिमले सहभागी पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै प्रदेशको डिजिटल पत्रकारितालाई थप प्रभावकारी, विश्वसनीय र उत्तरदायी बनाउने विश्वास गरिएको आयोजकको भनाइ छ।




