धनुषा – धनुषाको मिथिला नगरपालिकाको न्यायिक समिति तथा कानुन शाखाको आयोजनामा मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने पुनः ताजगी तालिम सम्पन्न भएको छ। सोमबार लालगढमा सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो।
तालिम समापन कार्यक्रममा नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले स्थानीय तहमा हुने विवाद समाधानलाई छिटो, सहज र प्रभावकारी बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै इमान्दारीताका साथ सेवा दिन सहभागीहरूलाई आग्रह गर्नुभयो।



आधारभूत तालिमबाट सिकिएका विषयवस्तुको कार्यान्वयनका क्रममा आएका चुनौतीहरूलाई समाधान गर्दै अझ दक्ष र जिम्मेवार मेलमिलापकर्ता तयार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो।
मिथिला नगरपालिका न्यायिक समितिका संयोजक समेत रहनुभएका बुढाथोकीले न्याय सम्पादनलाई छिटो, सहज र भेदभावरहित बनाउँदै आएको बताउँदै उहाँले न्यायिक मामिला व्यवस्थापन प्रणालीको प्रभावकारी प्रयोगका कारण स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा आर्थिक वर्ष २०८०/०८१ मा ९२.८६ प्रतिशत अंक प्राप्त भएको जानकारी दिनुभयो।
तालिममा उच्च अदालत जनकपुरका न्यायाधीश टंक नारायण कुवर, स्थानीय सरकार सबलीकरणका उपनिर्देशक प्रिति थापा, सोही संस्थाका गण्डकी प्रदेश संयोजक पूर्ण परियार तथा मधेस प्रदेश संयोजक मन्जु मन्जरीले सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षकहरूले मेलमिलाप प्रक्रियाका कानुनी, व्यवहारिक र सामाजिक पक्षबारे विस्तृत जानकारी गराउँदै सहभागीहरूबीच अनुभव आदानप्रदान गराएका थिए।तालिममा न्यायिक समितिका उत्कृष्ट अभ्यासहरू समेत प्रस्तुत गरिएको थियो, जसले स्थानीय तहमा विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।




