- अजय शाह
महोत्तरी– सरकारी कार्यालयहरूमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी संकलन गर्न राखिएका ‘गुनासो पेटिका’ पछिल्लो समय प्रयोगविहीन बन्दै गएका छन्।
सङ्घ, प्रदेश तथा स्थानीय तहका अधिकांश कार्यालयमा राखिएका यस्ता पेटिका प्रायः रित्तै रहने गरेका छन् भने कतिपय कार्यालयमा लामो समयदेखि नखोलिएको अवस्था समेत देखिएको छ।



केही वर्षअघिसम्म गुनासो पेटिकामा सेवाग्राहीका उजुरी तथा सुझावहरू संकलन हुने गरे पनि अहिले पेटिका खोल्दा प्रायः खाली नै पाइने गरेको सम्बन्धित कार्यालयहरूले जनाएका छन्। कतिपय स्थानमा त पेटिका खोल्ने प्रचलन नै हराउँदै गएको छ भने केही पेटिकामा माकुराको जालो र बारुलाको घार समेत बनेको पाइन्छ।

महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा। दिपेन्द्र महतो ले आफू निर्वाचित भएको करिब चार वर्षको अवधिमा गुनासो पेटिकामा एउटा पनि उजुरी नपरेको बताउनुभयो।
उहाँकाअनुसार सेवाग्राहीले चित्त नबुझेका विषय प्रत्यक्ष रूपमा जनप्रतिनिधि, सूचना अधिकारी वा कार्यालय प्रमुखसमक्ष राख्ने प्रवृत्ति बढेकाले पेटिकाको प्रयोग घटेको हुनसक्छ।
यस्तै, औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्का ले दैनिक रूपमा सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट हुने र गुनासा सिधै प्रस्तुत गरिने भएकाले पेटिकामा उजुरी नआएको बताउनुभयो। “सेवाग्राहीले आफ्ना समस्या र गुनासा प्रत्यक्ष रूपमा जनप्रतिनिधि तथा कर्मचारीसमक्ष राख्ने चलन बढेको छ,” उहाँले भन्नुभयो।
जिल्ला प्रशासन कार्यालयजस्तो बढी सेवाग्राही चाप हुने निकायमा समेत गुनासो पेटिका प्रभावकारी रूपमा प्रयोग हुन सकेको छैन। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार सेवाग्राहीले गुनासो भए सिधै कार्यालयमा उपस्थित भई वा सम्बन्धित अधिकारीसँग सम्पर्क गर्ने भएकाले पेटिकाको प्रयोग घटेको हो।
सूचना प्रविधिको तीव्र विकाससँगै गुनासो दर्ता गर्ने शैलीमा समेत परिवर्तन आएको छ। वर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीकाअनुसार अहिले अधिकांश सरकारी कार्यालयहरूले आफ्ना वेबसाइटमार्फत नै गुनासो तथा उजुरी दर्ता गर्ने व्यवस्था मिलाएका छन्।

“सेवाग्राहीलाई सहजताका लागि अनलाइन प्रणाली विकास गरिएकाले परम्परागत गुनासो पेटिका प्रयोगविहीन बन्न पुगेका छन्,” उहाँले बताउनुभयो।
जिल्लामा बढी सेवाग्राही आउने मालपोत तथा भूमिसुधार कार्यालयमासमेत गुनासो पेटिका खाली नै रहने गरेको छ। मालपोत तथा भूमिसुधार कार्यालय जलेश्वरका सूचना अधिकारी अजयकुमार कर्णकाअनुसार सेवाग्राहीले समस्या परे सिधै कार्यालय प्रमुखसमक्ष पुग्ने गरेका छन्। साथै, सामाजिक सञ्जालमार्फत गुनासो सार्वजनिक गर्ने प्रवृत्ति समेत बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो।
सरकारी कार्यालयहरूले नागरिक बडापत्र, सेवा प्रवाहसम्बन्धी विवरण तथा अन्य सूचनाहरू समेत वेबसाइटमार्फत सार्वजनिक गर्ने गरेका छन्। यसले गर्दा सेवाग्राहीले प्रत्यक्ष भेटघाट, फोन वा डिजिटल माध्यमबाट गुनासो राख्ने अभ्यास बढेको देखिन्छ।
सूचनाको हकका क्षेत्रमा क्रियाशील धर्वेन्द्रकुमार यादवले गुनासो पेटिका राम्रो व्यवस्था भए पनि यसको प्रभावकारिताबारे पर्याप्त जानकारी नदिँदा प्रयोग घटेको बताउनुभयो। उहाँकाअनुसार कार्यालयहरूले पेटिकाको नियमित प्रयोग तथा व्यवस्थापनमा ध्यान नदिँदा यसको महत्व क्रमशः कम हुँदै गएको छ।

यद्यपि, सूचना प्रविधिको विस्तारसँगै सेवाग्राहीले अनलाइन माध्यममार्फत गुनासो तथा सुझाव राख्ने अभ्यास बढ्दै गएको छ। यसले पारदर्शिता र पहुँचलाई सहज बनाएको भए पनि परम्परागत गुनासो पेटिका भने विस्तारै इतिहास बन्दै जाने संकेत देखिएको छ।-गोरखा पत्र




