जनकपुरधाम – बर्दिबास मेडिकल कलेजको पूर्वाधार विकास कार्य औपचारिक रूपमा अगाडि बढ्ने बाटो खुलेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा भू–संरक्षण विभागले आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिँदै पत्राचार गरेसँगै लामो समयदेखि प्रतीक्षामा रहेको यो आयोजना कार्यान्वयनउन्मुख भएको हो ।
विभागले महोत्तरीस्थित डिभिजन वन कार्यालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा मेडिकल कलेजसँग सम्बन्धित पूर्वाधार विकासका लागि आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया तत्काल अघि बढाउन भनिएको छ ।



विभागको अनुगमन समितिले २०८२ चैत २४ गते पेस गरेको प्रतिवेदनका आधारमा मेडिकल कलेजसँग नियमानुसार सम्झौता गर्न २०८२ चैत २७ गते निर्णय गर्दै लागत अनुमान पेस गर्न निर्देशन दिएको थियो। सोही निर्णयले आयोजना कार्यान्वयनका लागि महत्त्वपूर्ण आधार तयार गरेको हो।

यसैबिच डिभिजन वन कार्यालय महोत्तरीले बर्दिबास मेडिकल कलेजसँग सम्झौताअघि वन विकास कोषमा जम्मा गर्नुपर्ने रकमको विस्तृत लागत अनुमान तयार गरी वन तथा भू–संरक्षण विभागमा पठाएको छ। कार्यालयका अनुसार आयोजना कार्यान्वयनअघि कुल २६ करोड ४६ लाख ९ हजार ५ सय २५ रुपैयाँ वन विकास कोषमा जम्मा गर्नुपर्नेछ।
लागत विवरणअनुसार वन क्षेत्र प्रयोगको स्वीकृति पाएवापत ५४.५८४ हेक्टर क्षेत्रको सट्टा भर्ना स्वरूप १९ करोड १० लाख ४४ हजार रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै सट्टा भर्ना गरिएको जग्गामा वृक्षरोपण गर्न ६ करोड ४२ हजार ४ सय रुपैयाँ खर्च अनुमान गरिएको छ । हटाइने रूख तथा पोलको सट्टामा १ः१० को अनुपातमा वृक्षरोपण गर्न लाग्ने खर्च १ करोड ३५ लाख २३ हजार १ सय २५ रुपैयाँ तोकिएको छ ।
वन नियमावली २०७९ अनुसार वन क्षेत्र प्रयोग गर्नुअघि यस्ता सबै क्षतिपूर्ति रकम अनिवार्य रूपमा वन विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । सो रकम आयोजनाले जम्मा गरेपछि मात्रै वन कार्यालय र मेडिकल कलेजबिच औपचारिक सम्झौता हुने जनाइएको छ ।

वन संरक्षण अधिकृत प्रयास घिमिरेका अनुसार लागत अनुमान तयार गर्दा वन नियमावलीका प्रावधानहरू पूर्ण रूपमा पालना गरिएको छ। ‘वन क्षेत्र प्रयोगसँग सम्बन्धित सबै कानुनी प्रक्रिया पूरा गरी वातावरणीय सन्तुलन कायम राख्ने गरी योजना अघि बढाइएको छ,’ उनले बताए ।
बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले सरकारको निर्णयसँगै आयोजना अब व्यवहारिक रूपमा कार्यान्वयन चरणमा प्रवेश गरेको बताए । उनले मधेस प्रदेशका लागि बहुप्रतीक्षित यस मेडिकल कलेजको निर्माणले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे। ‘अब उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुनेछ,’ उनले भने ।
बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्कीले पनि कलेज सञ्चालनमा आएपछि स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा टेवा पुग्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने धारणा राखे। उनका अनुसार यसले रोजगारी सिर्जना गरी क्षेत्रीय विकासलाई गति दिनेछ।

वन तथा भू–संरक्षण विभागको निर्देशन, लागत निर्धारण र आवश्यक प्रक्रिया अगाडि बढेसँगै बर्दिबास मेडिकल कलेजको पूर्वाधार विकास अब निर्णायक चरणमा पुगेको छ। सम्बन्धित निकायहरूले तोकिएको रकम समयमै जम्मा गरेमा निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।




