महोत्तरी। विशेष अदालतले गलत लिखत तयार गरेको मुद्दामा दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ। बुधबार विशेषले महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालापोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई सजाय सुनाएको हो।
०८० साउनमा साविक इटरहर्वाकट्टिको ५ कठ्ठा १२ धुर जग्गा राजीव कुमार ठाकुरको नाममा कम्प्युटरमा स्रेस्ता अद्यावधिक गरिएको भेटिएको थियो। जबकी सुरु नापीमा उक्त जग्गा परती प्रमाणित, किसानको महल खाली र विरहमा पोखरी भनी उल्लेख भएको सरकारी जग्गा थियो।



यसमा ठाकुरका साथै मालपोतको मोठ फाँटमा कार्यरत नायव सुब्बा परमानन्द साह र कम्प्युटर अपरेटर रविन्द्रकुमार सिंहको मिलेमतो रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। गैरकानूनी रुपमा दूषित लिखत तयार गरी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै यसबाट सरकारलाई न्यूनतम् १७ लाख २५ हजार रुपैयाँ नोक्सान भएको भन्दै गत १९ माघमा तीनैजनामाथि मुद्दा दर्ता भएको थियो।
तीन महिनाअघि दायर मुद्दामा विशेषका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले यस्तो फैसला गरेका हुन्। नासु साह र कम्प्युटर अपरेटर सिंहलाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम जनही ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा दफा ११ बमोजिम ३ महिना कैद र ३० हजार रुपैयाँ हुने सजाय सुनाइएको छ।
यसैगरी ठाकुरलाई पनि उति नै सजाय सुनाइएको छ। तीनैजना प्रतिवादीहरुबाट जनही १६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा भराउनसमेत विशेषले भनेको छ।




