जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरुमा अन्य प्रदेशका तुलनामा मतबदर प्रतिशत बढी भएकाले मतदाता शिक्षाका लागि थप एवं प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
निर्वाचन आयोग नेपालद्वारा आज जनकपुरधाममा प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै मधेश प्रदेशमा निरक्षरताको अवस्था अन्य प्रदेशभन्दा बढी भएका कारणले मतदाता शिक्षाका लागि विषेश कार्यक्रम सञ्चालन गरिनु पर्नेमा सहभागिहरुले जोड दिनु भएको हो ।
सहभागिहरुले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी तथा निरन्तरता दिनका लागि विद्यालयको पाठ्यक्रममा समावेश गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा सहभागिहरुले मतदान स्थलको निर्वाचन कार्यतालिका भन्दा पहिला नै अनुगमन हुनु पर्ने, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको प्रशिक्षण राम्रो हुनु पर्ने, निर्वाचन कानूनको कडाईका साथ पालना गराउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै निर्वाचन आयोग नेपालका सचिव मधु सुदन गोर्लाकोटीले हालै सम्पन्न भएको प्रतिनिधि निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र रुपमा सम्पन्न गराउनका लागि विभिन्न क्षेत्रवाट भएको सहयोगको लागि निर्वाचन आयोग कृतज्ञ रहेको बताउनु भयो ।
उहाँले प्रदेश स्तरीय समीक्षा कार्यक्रमवाट आएको सुझावहरु निर्वाचन आयोगको वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुका साथै नेपाल सरकारलाई दिनु पर्ने सुझावहरु आयोगले दिने बताउनु भयो ।
प्रदेश स्तरीय कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, निर्वाचन आयोगका सह–प्रवक्ता नारायण प्रसाद भट्टराई, धनुषाका सुरक्षा निकायका प्रमुखहरु, मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, स्थानीय तहका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाजका अगुवाहरु, कानून व्यवसायी, अधिकारकर्मी एवं पत्रकारहरु सहभागि रहनु भएको थियो ।







