नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबिच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने विदेशमन्त्री डा. जयशङ्करबिच आज भएको भेटवार्ता गर्नुभएको हो । सभापित लामिछानेसँगको भेटमा आपसी हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।



भेटवार्तापछि सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत धारणा सार्वजनिक गर्दै भारतीय विदेशमन्त्री डा. जयशङ्करले रास्वपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।

उहाँले दुई देशबिचको विकास साझेदारी र जनस्तरको गहिरो सम्बन्धले यस क्षेत्रको विकास र समृद्धिलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरालगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।
यसअघि सभापति लामिछानेले मङ्गलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा भाजपाको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न गरेको छ।
भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नविन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालगायतका वरिष्ठ नेतासँग भएको यस द्विपक्षीय छलफलले दलगत कूटनीतिको अभ्यासलाई अघि बढाएको छ।

दुई छिमेकी राष्ट्रबिचको युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ र सुदृढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यता र अभ्यासहरूमाथिको सम्वादलाई फराकिलो बनाउनु यस उच्चस्तरीय भेटको मुख्य उद्देश्य रहेको थियो।
यसका साथै, भेटमा सुदृढ साङ्गठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदानप्रदान भएको रास्वपाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएको छ ।




