महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधिहरू पछिल्लो समय देशभरि नै व्यापक चासो र चर्चाको विषय बन्ने गरेका छन्। पार्टीले अघि सारेका नीति, कार्यक्रम तथा संगठन विस्तारका अभियानप्रति नागरिकको विशेष ध्यान केन्द्रित भएको देखिन्छ। यही क्रममा महोत्तरीसहित देशका ७७ वटै जिल्लामा सञ्चालन भएको संगठन विस्तार तथा अधिवेशन प्रक्रियाले पनि उल्लेखनीय चर्चा बटुलेको छ।
महोत्तरीमा वडा तथा नगर अधिवेशन सम्पन्न भइसकेका छन् भने जिल्ला अधिवेशन भने हालसम्म अनिश्चित बनेको छ। यद्यपि जिल्ला अधिवेशनको तयारीका क्रममा रामगोपालपुरमा आयोजित सभामा रास्वपा महोत्तरीका संस्थापक सभापति शुभमकुमार यादवप्रति देखिएको जनसमर्थनले संगठनभित्र उनको प्रभावशाली उपस्थितिलाई स्पष्ट पारेको थियो। सहमति नजुट्दा जिल्ला अधिवेशन स्थगित भए पनि शुभमकुमार यादवको लोकप्रियता र जनविश्वासमा कुनै कमी आएको देखिएको छैन।



परिवर्तन, सुशासन र विकासको नारासहित नेपाली राजनीतिमा उदाएको रास्वपाको महोत्तरीमा सुरुआती अवस्था निकै कमजोर थियो। पार्टीप्रति जनविश्वास निर्माण गर्नेदेखि संगठन विस्तारसम्मका काम चुनौतीपूर्ण मानिन्थे। यस्तो अवस्थामा पार्टीले मधेशको विकासलाई राष्ट्रिय विकाससँग जोड्दै आफ्नो पहिलो कार्यक्रम महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजना गरेको थियो। उक्त कार्यक्रम सफल बनाउन दिनरात खट्ने व्यक्तिमध्ये अग्रपंक्तिमा शुभमकुमार यादव नै थिए।
वि.सं. २०७९ फागुन १२ गते महोत्तरीमा रास्वपाको औपचारिक संगठन स्थापना भएपछि शुभमकुमार यादवले संस्थापक सभापतिको जिम्मेवारी सम्हाले। कम उमेरमै ठूलो जिम्मेवारी पाएका उनी देशभरकै रास्वपा संगठनका कान्छा सभापतिमध्ये एक थिए। पुराना राजनीतिक दलहरूको बलियो प्रभाव रहेको क्षेत्रमा नयाँ पार्टी स्थापित गर्ने प्रयास सहज थिएन। आलोचना, कटाक्ष र विभिन्न प्रकारका असहयोगका बाबजुद पनि उनी आफ्नो लक्ष्यप्रति दृढ रहँदै सन्तुलित, जनमुखी र विवादरहित राजनीतिक शैलीका कारण स्थापित हुँदै गए।
संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण, महोत्तरीका जनसरोकारका विषय उठान, प्रदेश तथा केन्द्रस्तरमा जिल्लाका माग र आवश्यकताबारे स्पष्ट धारणा राख्ने कार्यमा उनले सक्रिय भूमिका निर्वाह गरेका छन्। यसका साथै जिल्लाका विभिन्न सामाजिक तथा प्रशासनिक विषयमा नागरिकलाई सहजता प्रदान गर्न स्थानीय प्रशासनसँग समन्वय गर्दै अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन्।
महोत्तरीका धेरै कार्यकर्ता तथा शुभेच्छुकहरूले आगामी जिल्ला अधिवेशनबाट उनलाई जिल्ला सभापतिको जिम्मेवारीमा देख्न चाहेको चर्चा पनि हुने गरेको छ। संघर्षका समयमा नआत्तिने, सफलतामा संयमित रहने तथा वर्तमान असहमतिका परिस्थितिमा समेत संगठनात्मक प्रक्रिया र लोकतान्त्रिक मूल्यको सम्मान गर्दै अधिवेशन सफल बनाउन सक्रिय रहने उनको व्यवहारले कार्यकर्ता र नागरिक दुवैको विश्वास जित्न सफल भएको देखिन्छ।
यिनै कारणहरूले शुभमकुमार यादवलाई महोत्तरीमा रास्वपाका एक लोकप्रिय युवा नेताका रूपमा स्थापित गरिरहेको छ। संघर्ष, समर्पण, संगठन निर्माण र जनतासँगको निरन्तर सम्पर्कका कारण उनीप्रतिको जनसमर्थन र जनविश्वास क्रमशः बढ्दै गएको धेरैको बुझाइ छ।




