मो. इसराफिल राइन,मटिहानी (महोत्तरी) – नेपालको सबैभन्दा जेठो तथा ऐतिहासिक गुरुकुल श्री राजकीय संस्कृत माध्यमिक विद्यालय, मटिहानीमा अध्ययनरत वटुकहरूलाई आज आयोजित एक कार्यक्रमबीच ट्र्याकसुट ड्रेस (Track Suit Dress) तथा धोती वितरण गरिएको छ।

पूर्व विद्यार्थी तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको सहयोगमा प्राप्त सो ड्रेस र धोती वितरणले गुरुकुलको शैक्षिक तथा संस्कारमूलक वातावरणलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।




कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, पूर्व प्रधानाध्यापक श्री अमिरी लाल मण्डल तथा श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलले संयुक्त रूपमा वटुकहरूलाई ट्र्याकसुट ड्रेस र धोती हस्तान्तरण गर्नुभएको थियो।

यस अवसरमा गुरुकुलका पूर्व विद्यार्थी एवं हाल काठमाडौंस्थित प्रोग्रेसिभ सेकेन्डरी स्कुल का प्रधानाध्यापक श्री विष्णु पराजुली द्वारा प्रदान गरिएको रु. ५० हजार बराबरको गुरुकुलको नाम र लोगो अंकित ट्र्याकसुट ड्रेस वितरण गरिएको हो। त्यसैगरी मटिहानी–७ स्थित श्री या.ल.ना. विद्यापीठका उप-प्राध्यापक श्री वैदिक सितारा पौडेलले सहयोगस्वरूप प्रदान गर्नुभएको ४० थान धोती समेत वटुकहरूलाई हस्तान्तरण गरिएको थियो।













