महोत्तरी – गौशाला नगरपालिकाले ड्युटीमा रहेका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाको विरोध गर्दै सेवा प्रवाह प्रभावित हुन सक्ने जनाएको छ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिअनुसार असार १८ गते बिहीबार बेलुका करिब ५ बजे गौशाला नगरपालिकाको कार्यालयमा ड्युटीमा खटिएका आठ जना राष्ट्रसेवक नगर प्रहरीलाई बिना सूचना नेपाल प्रहरीको टोलीले कार्यालयमा प्रवेश गरी धरपकड शैलीमा नियन्त्रणमा लिएको थियो।



नगरपालिकाले उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसबाट नगरपालिकामा कार्यरत कर्मचारी तथा नगर प्रहरीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको जनाएको छ। स्थानीय सरकारको अधिकार क्षेत्रभित्र कानुनबमोजिम आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरीलाई अर्को तहको सरकारले नियन्त्रणमा लिएको घटनाले कर्मचारीहरूमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाले पक्राउ परेका नगर प्रहरीहरूको अविलम्ब रिहाइ तथा कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नहुँदासम्म नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय,स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीबाट नियमित सेवा प्रवाह हुन नसक्ने जनाएको छ।
यसबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति नगरपालिकाले दुःख व्यक्त गर्दै परिस्थितिको शीघ्र समाधानका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।
उक्त विज्ञप्तिमा नगरपालिकाका कर्मचारीहरूको सामूहिक हस्ताक्षर समेत रहेको छ।





