महोत्तरी – महोत्तरीको बलवा नगरपालिका–६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गरिएको छ।
स्थानीय ३६ वर्षीय इन्जिनियर हुसनैन अन्सारीमाथि ज्यान लिने मनसायका साथ आक्रमण गरी गम्भीर घाइते बनाएको आरोपमा उनका दाजु ३९ वर्षीय नुरैन अन्सारीले प्रहरीमा जाहेरी दिएका हुन्।प्रहरीका अनुसार संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरअन्तर्गत बलवा बजारदेखि रौजा बजार हुँदै पडौंलसम्म निर्माणाधीन हुलाकी सडक आयोजनाको ४१२ मिटर आरसीसी ढलान भइरहेको क्रममा देवनामा क्षेत्रमा विवाद उत्पन्न भएपछि अन्सारीमाथि आक्रमण भएको थियो।



आक्रमणबाट अन्सारीको हातको औँला काटिएको तथा शरीरका विभिन्न भागमा चोट लागेको परिवारले जनाएको छ। घटनापछि पीडित पक्षले न्यायको माग गर्दै प्रहरीमा जाहेरी दिएपछि मुद्दा दर्ता गरिएको हो।उक्त मुद्दामा वडाध्यक्ष वैद्यनाथ झासहित बलवा नगरपालिका–६ निवासी ५६ वर्षीय श्याम यादव, ३२ वर्षीय मञ्जेश यादव तथा वडा नं. ५ निवासी ४० वर्षीय राजु यादव र ३५ वर्षीय बलराम यादवलाई प्रतिवादी बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारू मगरले घटनासम्बन्धी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भइसकेको र कानुनबमोजिम आवश्यक अनुसन्धान तथा प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।




