राजकरण महतो,महोत्तरी- महोत्तरीको बर्दिबासमा शुक्रबार बिहान हिन्दु र मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि एकै ठाउँमा भेला भए । उनीहरूले एकसाथ चिया पिए, हातेमालो गरे र एउटै स्वरमा भने– “हिन्दु–मुस्लिम हामी दाजुभाइ ।”
बर्दिबास उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न सर्वपक्षीय सद्भाव बैठकले ‘हाम्रो विविधता, हाम्रो पहिचान, हाम्रो एकता, हाम्रो अभियान’ भन्ने नारासहित नेपालका सबै भाषा, धर्म र समुदायबीचको आपसी विश्वास र सहअस्तित्वलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।



बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले समाजमा धार्मिक सद्भाव बिथोल्ने र उत्तेजना फैलाउने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे । सामाजिक सञ्जालमा लोकप्रिय बन्न गरिने स्टन्टबाजीले समाजमा अनावश्यक तनाव सिर्जना गरिरहेको उनको भनाइ थियो ।
मुस्लिम समाज बर्दिबासका अध्यक्ष अताबुल रहमानले सानो गल्तीले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले सबै समुदाय संयमित हुनुपर्ने बताए । “हामी वर्षौंदेखि मिलेर बसेका छौँ । समस्या आए पनि मिलेरै समाधान गर्नुपर्छ,” उनले भने ।
बर्दिबास–१ का पूर्व वडाध्यक्ष चुडामणि पोखरेलले पहाडी–मधेसी, हिन्दु–मुस्लिम तथा जातीय विभाजनका नाममा समाजमा मनमुटाव बढाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न सबै एकजुट हुनुपर्ने बताए ।
स्थानीय चेतबहादुर थापाले विगतका आन्दोलनका समयमा पनि बर्दिबासले शान्तिपूर्ण ढंगले परिस्थिति व्यवस्थापन गरेको स्मरण गराउँदै अहिलेको संवेदनशील अवस्थामा पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य सन्त परियारले शान्ति र सामाजिक सद्भाव जोगाउन बर्दिबासले विगतमा देखाएको साहस फेरि एकपटक प्रदर्शन गर्ने समय आएको बताए ।
राप्रपा महोत्तरी क्षेत्र नं. १ का नेता कमल पोखरेलले कुनै पनि व्यक्ति वा समुदाय अराजक गतिविधिमा संलग्न हुन नहुने बताउँदै सामाजिक सद्भावभन्दा ठूलो सम्पत्ति अरू केही नभएको धारणा राखे ।
बर्दिबास नगर पत्रकार सञ्जालका प्रतिनिधिले कालापानी वन प्रकरणलाई लिएर समाजमा अशान्ति फैलाउने गतिविधि हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिबासका सुदीप कार्कीले गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको घटनाका बेला अधिकारकर्मी सञ्जय न्यौपानेले सामाजिक सद्भावका लागि खेलेको भूमिकाको स्मरण गर्दै बर्दिबास एकताको उदाहरण बनेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता विजय पोखरेलले कालापानी घटनाप्रति आफू पनि चिन्तित रहेको बताउँदै जात, धर्म र समुदायका नाममा मधेशलाई विभाजित गर्ने प्रयास अस्वीकार्य भएको बताए ।
होटल तथा पर्यटन व्यवसायी महासंघ बर्दिबासका अध्यक्ष गुन्जबहादुर कार्कीले अराजक गतिविधिमा संलग्न व्यक्तिमाथि सुरक्षा निकायले प्रभावकारी निगरानी गर्नुपर्नेमा जोड दिए ।
अधिवक्ता नदाफले सुनसरीलगायत स्थानमा भएका घटनाका दोषीलाई कानुनी कारबाही हुनुपर्ने बताउँदै “सबैको रगत बराबर छ, त्यसैले हामी विभाजित हुनुहुँदैन,” भने ।
नेकपा एमालेका युवा नेता शंकर महतोले बर्दिबास सुन्दर भुगोल रहेको बताए । उनले भने, “बर्दिबासको समाजिक बनोट नै गहना छ । यहाँ एउटालाई घाउ हुदा अर्कोलाई दुखेको छ । हाम्रो तागत, ज्ञान र चेतना बर्दिबास समृध बनाउने तिर लगाउनु पर्छ ।” उनका अनुसार मधेश बेहाल छ । तर, नेताहरु फोटो र भिडियोमा स्टन्ट गरिरहेको छ । तिनै तहका प्रतिनिधि र राजनीति दलहरु समाजिक एकताका लागि काम गर्नु पर्छ ।
इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख माधवराज न्यौपानेले विविधता नै हाम्रो एकता हो । यसलाइ जगेर्ना गर्नु पर्छ । हामी सबै होसियारी एकताको साझा सहकार छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राजकरण महतोले सम्प्रादायिक दङाको आगो निभाउने एक मात्र उपाय समाजिक एकता र भाइचारा नै रहेको बताए ।
बर्दिबास उधोग बाणिज्य संघका पुर्व अध्यक्ष विष्णु खड्काले धर्मका नाममा राजनीति हुनु नहुने बताए । पुर्व कर्माचारी समाज बर्दिबास महोत्तरीका अध्यक्ष राम कुमार कार्किले सामाजिक सद्बभाव जोगाउन सबै लाग्नु पर्ने बताए ।
जनता माध्यमिक विधालय गौरिडाडाका विधालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी ढुङ्गानाले सबैले सबैको सास्कार, सस्कृतिलाई अनुसरन गरे समाजिक एकता कहिल्यै नभड्किने बताए ।
नेपाली काङ्ग्रेस बर्दिबासका नेता पोषण थापाले राजनीति दलले समाजको कमान्ड समाल्नु पर्ने बताए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले हरेक समय बर्दिबास एकै स्थानमा उभिएर सद्भाव कायम राख्ने गरेको बताए । उनले भने, “हिन्दु र मुस्लिम समुदाय हामी दाजु भाइ भएर बसेका छौ ।”
बर्दिबास उधोग बाणिज्य संघका अध्यक्ष दिपक कार्कीले हिन्दु र मुस्लिम बिच पारिवारिक, समाजिक सम्बन्ध रहेको बताए । केही व्यक्तिले माहोल भड्काएकोले सबै सचेत हुनु पर्ने बताए ।





