धनुषा – नेपाली कांग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधीले अपांगता भएका व्यक्तिलाई दयाको दृष्टिकोणले नभई सम्मान र समान अवसरका साथ हेर्नुपर्ने बताएका छन्।
शनिबार जनकपुरधाममा आयोजित अपांग तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेता निधीले अहिलेको समयमा अपांगता भएका व्यक्तिलाई ‘फरक क्षमता भएका व्यक्ति’ भनेर सम्बोधन गर्ने गरिएको बताए। उनीहरूले कतिपय अवस्थामा कृत्रिम बौद्धिकता (एआई) भन्दा पनि तीक्ष्ण रूपमा सोच्न र काम गर्न सक्ने क्षमता राख्ने गरेको उनको भनाइ थियो।
निधीले अपांगता भएका व्यक्तिलाई हेला नगरी उनीहरूमा रहेको क्षमता प्रस्फुटन हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, “सम्मानको दृष्टिकोण मात्र होइन, व्यवहारमै सम्मान गर्नुपर्छ। उनीहरूलाई आफूमा गर्व गर्न सक्ने काम गर्न उत्प्रेरित गर्नुपर्छ।”
नेपालको संसदमा दुवै आँखा नदेख्ने सांसदसमेत रहेको उदाहरण दिँदै निधीले शारीरिक अवस्थाले व्यक्तिको क्षमता निर्धारण नगर्ने बताए। दृष्टिविहीन भए पनि ती सांसदले संसदमा गर्व गर्न लायक ढंगले आफ्ना विचार प्रस्तुत गर्दै आएको उनको भनाइ थियो।
कार्यक्रममा निधीले पार्टीका आन्तरिक छलफल तथा राजनीतिक गतिविधिका कारण व्यस्त समय रहे पनि आफूलाई कार्यक्रममा सहभागी हुन प्रेरित गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुरेश झाप्रति आभार व्यक्त गरे।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा तथा वडाध्यक्ष सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सल र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो








