–नकुल अर्याल
काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइँ टुङ्ग्याउँदै बिहीबार स्वदेश फर्किए । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा भौतिक आक्रमणमा परेका देउवा गत फागुन १३ गते सिङ्गापुर गएका थिए । उतैबाट हङकङ पुगेका देउवा स्वदेश फर्कँदा नेपाली कांग्रेसका नेताहरू एवं शुभेच्छुकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।



देउवाका अनिच्छाका बाबजुद गत पुस २७ मा कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको थियो । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा कार्यसमिति चयन गरेपछि चर्किएको कांग्रेस विवाद अझै मत्थर भएको छैन । केही दिनअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने फैसलाविरुद्ध देउवाले दिएको पुनरावलोकन निवेदनलाई निस्सा दिएको थियो । यस्तो पृष्ठभूमिमा देउवाको आगमन र देउवा पक्षको राष्ट्रिय भेलाले कांग्रेसको आन्तरिक राजनीतिलाई गम्भीर मोडमा ल्याइपुर्याएको छ ।
विदेश जानुअघि के भयो ?
गत भदौ २४ मा आफ्नै निवासमा भएको साङ्घातिक आक्रमणले देउवा सम्पत्ति नै गम्भीर घाइते भएका थिए । लामो समय स्वदेशमै उपचार गराएका देउवा असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकबाट सार्वजनिक भएका थिए । सोही बैठकमा लिखित मन्तव्य राख्दै देउवाले सभापतिको सक्रिय भूमिका त्यागेको घोषणा गरे । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै देउवाले जेनजी आन्दोलनले उठाएका अभिव्यक्ति स्वतन्त्रता, सुशासन र भ्रष्टाचारीमाथिको कारबाहीका मागमा आफ्नो समर्थन रहेको उल्लेख गरेका थिए ।
केन्द्रीय समितिमा लिखित वक्तव्य दिँदै देउवाले १५ औँ महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण गर्न चाहेको स्पष्ट गरेका थिए । खड्कालाई कार्यवाहक दिएपछि देउवा उपचारका लागि गत कात्तिक १० मा सिङ्गापुर गए । १८ दिनको उपचारपछि कात्तिक २८ मा स्वदेश फर्किएका देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए ।
देउवाको अनुपस्थितिमा कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्को भइसकेको थियो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेको विषयमा केन्द्रीय समिति अनिर्णीत थियो । तत्कालीन संस्थापन पक्षले अस्वीकार गरेपछि पुस २७ गते तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना भयो ।
त्यसबाट निर्वाचित गगन नेतृत्वको कार्यसमितिले माघ १ गते निर्वाचन आयोगको वैधानिकता पायो । गगनकै नेतृत्वमा कांग्रेसले चुनाव लडिरहँदा देउवा भने मतदानको ९ दिनअघि फागुन १३ मा उपचारका लागि पुनः सिङ्गापुर गए । त्यसयता देउवा दम्पत्तिविरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणलगायतका कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा देउवा स्वयंले वारेसमार्फत सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा दिए । गत जेठ ११ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले देउवा दम्पत्तिलाई पक्राउ नगर्न आदेश जारी गर्यो ।
साढे ५ महिनापछि स्वदेश फर्किएका देउवामाथि धरपकड हुनसक्ने आशङ्काबीच उनी प्रहरीकै सुरक्षा घेरामा विमानस्थलबाट बाहिरिए । जहाँ उनलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू डा.शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौलालगायतले स्वागत गरे । देउवा विमानस्थलबाट बाहिरिँदा उनका समर्थकहरूले बाजागाजा र झाँकीसहित र्याली समेत निकालेका थिए ।
बदलिएको कांग्रेसमा नअटेका देउवा
नेपाली कांग्रेसको पहिचान अहिले ‘बदलिएको कांग्रेस’ भएको छ । गत निर्वाचनमा कांग्रेसले आफैलाई बदलिएको ब्राण्डिङ गर्न ‘बदलिएको कांग्रेस’ को प्रयोग गरेको थियो । देउवाको ईच्छाविपरीत भएका कारण विशेष महाधिवेशनमा उनको समर्थन र सहभागिता रहने कुरै भएन । त्यसैले विशेष महाधिवेशनयताको कांग्रेस मूलधारसँग देउवा जोडिएका छैनन् । विगतमा देउवासँग रहेका कतिपय नेताहरूले विशेष महाधिवेशनलाई स्वीकार गरे पनि देउवाले त्यस विरुद्ध कानुनी लडाइ जारी राखेका छन् ।
निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा देउवाले दिएको रिट गत वैशाख ४ गते खारेज भएको थियो । यसबाट देउवा पक्ष राजनीतिक सङ्कटमा परेको थियो । यसबीचमा भएका संवादले सार्थकता नपाउँदा देउवाले विदेशमा रहेरै सर्वोच्चको सो फैसला पुनरावलोकनका लागि निवेदन दिए । प्रधानन्यायाधीश मनोज शर्मा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएको सातौँ दिन देउवा काठमाडौँ आइपुगेका छन् । उनको आगमनले उनी निकट समूहमा उत्साह त छाएकै छ, कांग्रेसको आधिकारिता विवाद अझ पेचिलो ढङ्गले जाने सम्भावना पनि बढेको छ ।
कांग्रेसले देउवाको स्वदेश फिर्तीलाई खासै औपचारिकता दिएको छैन । बिहीबार जारी केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले निवर्तमान सभापति देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वागत गर्ने बताएका छन् ।
नरम वक्तव्य, कडा मन्तव्य
विगत ३५ वर्षयता देउवाको पहिचान सधैँ सत्ता र शक्तिसँग जोडिएको छ । विद्यार्थीकालमा सङ्घर्ष गरे पनि संसदीय कालमा देउवा सधैँ विवादित रहे । गठबन्धन सरकार बनाउन र ढाल्न चतुर खेलाडीको रूपमा देउवाको पहिचान स्थापित छ । जेनजी आन्दोलनअघि पनि देउवाकै समर्थनमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो ।
आन्दोलन नभएको भए गत असारमा देउवाको प्रधानमन्त्री बन्ने पालो थियो । २०४८ सालदेखियताका सबै निर्वाचनमा डडेलधुराबाट जितेका देउवा गत फागुनको निर्वाचनमा भने उम्मेदवारसमेत बनेनन् । साढे ५ महिना लामो विदेश बसाइ टुङ्ग्याएर फर्केसँग देउवाले राजनीतिक वक्तव्य जारी गरे । जहाँ उनले आफ्नो व्यक्तित्व, पहिचान र प्राथमिकतामा बदलावको सङ्केत दिए ।
उनले आफू नेता बन्न नभएर महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताएका छन् । देउवालाई आफूलाई विनम्र रूपमा प्रस्तुत गर्दै शक्ति प्राप्त गर्न नभएर राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् । ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु । विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ । प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ’, देउवाले भनेका छन् ।
उनले निर्वाचनबाट आकार घटे पनि कांग्रेस मुलुकको मियो रहेको उल्लेख गर्दै कांग्रेसमा रहेको असहमति र निराशा तुरुन्तै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसमा युवाहरू अघि बढ्नुपर्ने तर पाका र अनुभवी सबैलाई खराब करार गर्न नहुने देउवाले उल्लेख गरेका छन् ।
देउवाको बदलाव वक्तव्यमा देखिएको छ । तर व्यवहारमा उनले अब के गर्लान् ? भन्नेमा धेरैको चासो छँदैथ्यो । यो चासोको जवाफ पनि उनले तत्कालै दिइहाले । बिहीबार नै चुनदेवीस्थित कार्यालयमा आफूलाई कांग्रेसको सभापतिका रूपमा प्रस्तुत गर्दै देउवाले कडा मन्तव्य दिए ।
वक्तव्यमा नरम देखिएका देउवाले मन्तव्यमा कडापन देखाउँदै आफू शान्त नरहने सङ्केत गरे । देउवाको मन्तव्यको सङ्केत सरकारविरुद्ध देखिए पनि पार्टीको आन्तरिक सवालमा पनि उनले प्रतिवादको सङ्केत गरेका छन् । ‘मविरुद्ध धेरै षड्यन्त्र हुँदै आएको छ । विगतमा पनि अदालतबाट न्याय पाएको हुँ , अब पनि न्याय पाउने विश्वास छ । राजा ज्ञानेन्द्रले त सकेन, यिनीहरूले सक्छन् ?’, देउवाले प्रश्न गरे ।
उनले अदालतबाट न्याय मिल्ने भन्दै पार्टी विवादमा पनि आफ्नो पक्षले जित हासिल गर्ने आशय व्यक्त गरे । कांग्रेस नेतृत्वको वैधानिकता विवाद पुनः सर्वोच्च अदालतमा विचाराधीन छ । शुक्रबारदेखि सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले पनि कांग्रेसको विवादमा अझ तिक्तता बढाउने सम्भावना छ ।
सो भेलामा सहभागी नहुँदै देउवाले देखाएको शैलीले नेपाली राजनीतिमा ‘नयाँ कोर्स’ को प्रयत्न त भइरहेको छैन ? भन्ने प्रश्न गर्नेहरूलाई बल पुर्याएको छ । देउवाले वक्तव्यमा पार्टी एकता र हार्दिकताको कुरा गरे पनि मन्तव्यमा देखाएको ‘कडापन’ ले कांग्रेसमा निकासको सम्भावना लगभग टरेको देखिन्छ ।-नेपाल प्रेस





