महोत्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपाल औरही नगर समितिले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ।औरही नगर समितिले आज भदौ २२ गते बिहान ९ बजे नगर अध्यक्षद्वय दरेश यादव र महेन्द्रकुमार रायको संयुक्त अध्यक्षतामा बसेको बैठकले बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत पहाडी जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो।
बैठकले बाढीपीडित परिवारको पुनर्वास, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा आवागमन सहज बनाउन आवश्यक पूर्वाधार निर्माणसँगै तत्काल राहत र सहयोग उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ। पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले जसपा औरही नगर समितिका तर्फबाट पार्टी केन्द्रीय कार्यालयको खातामा आर्थिक सहयोग रकम जम्मा गर्ने निर्णयसमेत गरिएको छ।




नगर अध्यक्ष दरेश यादवले विपद्को यस कठिन घडीमा पीडित परिवारको साथमा पार्टी रहेको बताउनुभयो। उहाँले उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउँदै पीडितको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको उल्लेख गर्नुभयो।“विपद्मा परेका नागरिकको पीडामा साथ दिनु सबैको दायित्व हो। पीडित परिवारको राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट सक्दो सहयोग गर्नेछौँ,” उहाँले भन्नुभयो।
औरही नगरपालिकाका प्रमुख प्रदीप खड्काले प्राकृतिक विपद् सबैको साझा चुनौती भएकाले पीडित परिवारलाई सहयोग गर्न राजनीतिक दल, स्थानीय सरकार तथा नागरिक समाज एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले उद्धार र राहतसँगै प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

जिल्ला समन्वय समिति प्रमुख सुमन कर्णले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। राहत वितरणसँगै दीर्घकालीन पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो।बैठकले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन वडा तहसम्म पार्टीका गतिविधि विस्तार गर्ने, संगठनात्मक सक्रियता बढाउने तथा नेता–कार्यकर्ताबीच समन्वयलाई थप मजबुत बनाउने निर्णय गरेको छ।
यसैगरी जसपा नेपाल सम्मिलित अग्रगामी मोर्चाले यही भदौ २७ गते दिउँसो १ बजे जनकपुरमा आयोजना गर्ने कार्यक्रमलाई सफल बनाउन औरही नगरपालिकाभित्रका नेता, कार्यकर्ता तथा शुभेच्छुकको व्यापक सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको छ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख सुमन कर्ण, औरही नगरपालिकाका प्रमुख प्रदीप खड्का, उपप्रमुख रेनु झा, जसपा केन्द्रीय सदस्य ज्ञानु झा, पार्टी नेता राजनारायण यादव, रामदिनेश यादव, सरयुग यादव, शंकर यादव, सत्यनारायण यादव, हरिनारायण यादव, लालबाबु यादव, दीपेन्द्र यादवलगायतको उपस्थिति थियो।

त्यसैगरी वडा अध्यक्ष, वडा संयोजक, वडा सदस्य, महिला नेतृ, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको थियो।बैठकले विपद्को समयमा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।




