महोत्तरी- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप विकास तालिम लिएका मटिहानी नगरपालिकाका उद्यमी समूहका सदस्यलाई करेसाबारीमा प्रयोग हुने विभिन्न प्रविधि तथा कृषि सामग्री हस्तान्तरण गरिएको छ ।



मटिहानी नगरपालिकाले उद्यमीलाई सीपलाई व्यवहारमा प्रयोग गरी आयआर्जन तथा स्वरोजगारतर्फ अग्रसर गराउने उद्देश्यले सामग्री हस्तान्तरण गरेको हो । नगर प्रमुख हरिप्रसाद मण्डलले एक कार्यक्रमबीच उद्यमी समूहका १५ सदस्यलाई स्प्रे, कोदालो, गार्डेन पाइप, खुर्पी, हजारी तथा उन्नत जातका विभिन्न तरकारीका बीउलगायत सामग्री हस्तान्तरण गर्नुभयो ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख मण्डलले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय स्रोत, साधन र सीपको सदुपयोग गरी आत्मनिर्भर बन्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
उद्यम विकास सहजकर्ता कुन्दनकुमार मण्डलले सीप विकास तालिम प्राप्त उद्यमीलाई उत्पादनमूलक कार्यमा संलग्न गराउने उद्देश्यले आवश्यक प्रविधि तथा सामग्री उपलब्ध गराइएको बताउनुभयो । सामग्री तथा उन्नत जातका बीउ उपलब्ध भएपछि सहभागीले करेसाबारीलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
नगरपालिकाले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रममा मटिहानी–६ का वडाध्यक्ष कलीम अंसारी, वडा सदस्य ऐरुन खातुन, कृषि शाखा प्रमुख टंकप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो ।



















