महोत्तरी – भंगहा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि नगरप्रमुख सञ्जीवकुमार साहले सोमबार नगरपालिका कार्यालयसहित नौवटै वडा कार्यालयमा तालाबन्दी गर्नुभएको छ।प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए तीन दिनभित्र अतिआवश्यक सेवाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिनुभएका नगरप्रमुख साहले आफ्नो अल्टिमेटमको समय सकिएपछि आफैँ नगरपालिका तथा वडा कार्यालयमा तालाबन्दी गर्नुभएको हो।
तालाबन्दी गरेपछि नगरप्रमुख साहले कार्यालयका चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाउँदै तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरी नगरपालिकाको प्रशासनिक, वित्तीय तथा नियमित सेवा प्रवाह सुचारु गर्न माग गर्नुभएको छ।



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाले भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। मन्त्रालयबाट पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल नगरपालिकामा हाजिर नभएको नगरप्रमुख साहको भनाइ छ।
नगरप्रमुख साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक–पटक मन्त्रालय पुगेर समस्या समाधानका लागि आग्रह गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन। मन्त्रीसँग भेट गरी समस्या राख्न खोज्दा भेट हुन नसकेको र स्वकीय सचिवमार्फत समेत जानकारी गराउँदा समस्या समाधान नभएको उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको उहाँको भनाइ छ। कर्मचारी तथा जनप्रतिनिधिको तलब–भत्ता भुक्तानी, विकास निर्माणका योजना सञ्चालन तथा दैनिक सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको नगरप्रमुख साहले बताउनुभयो।
दसैँ नजिकिँदै गर्दा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या हुने अवस्था सिर्जना भएको उहाँको गुनासो छ। नगरपालिकाको नियमित प्रशासनिक काम सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति आवश्यक रहेकाले तत्काल व्यवस्थापन गर्न उहाँले सङ्घीय सरकारसँग माग गर्नुभएको छ।नगरप्रमुख साहले समस्या तत्काल समाधान गरी नगरपालिकाको सेवा प्रवाह सुचारु नगरिए थप कदम चाल्ने चेतावनीसमेत दिनुभएको छ।





