महोत्तरी – औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खड्कामाथि कार्यालयमै भएको हातपात तथा दुर्व्यवहार र त्यसपछि उत्पन्न घटनाक्रमप्रति ध्यानाकर्षण गराउँदै महोत्तरीका विभिन्न नगरपालिकाका नगरप्रमुखहरूले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
महोत्तरी जिल्ला स्तरीय नगरप्रमुखहरूको बैठकले सोमबार साँझ मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नगरप्रमुखहरूले मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले निर्भय र सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।



औरही नगरपालिका कार्यालयमा २०८३ भदौ ३१ गते बिहान करिब ११ः३० बजे केही व्यक्तिले नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरी हातपात गर्नुका साथै कार्यालय परिसरमा तोडफोडलगायतका गतिविधि गरेको नगरपालिकाको विवरणमा उल्लेख छ। घटनापछि जनप्रतिनिधि तथा कर्मचारीमा त्रासको अवस्था सिर्जना भएको र नियमित सेवा प्रवाहमा समेत असर परेको नगरप्रमुख खड्काको भनाइ छ।
ज्ञापनपत्रमा कार्यालयमै प्रवेश गरी जनप्रतिनिधि तथा कर्मचारीमाथि हातपात र दुर्व्यवहार गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउन तथा घटनाको निष्पक्ष छानबिन गर्न पनि नगरप्रमुखहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
नगरप्रमुखहरूले घटनामा घाइते भएका कर्मचारी तथा नगरवासीमाथि समेत मुद्दा दर्ता गरिएको विषयमा आपत्ति जनाएका छन्। निर्दोष कर्मचारी तथा नगरवासीमाथि दर्ता भएका मुद्दा तत्काल खारेज गर्न माग गर्दै उनीहरूले पीडितमाथि थप पीडा हुने अवस्था सिर्जना नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
स्थानीय तहका कर्मचारीले कानुनबमोजिम आफ्नो जिम्मेवारी निर्वाह गर्ने सुरक्षित वातावरण पाउनुपर्नेमा उल्टै कर्मचारीमाथि मुद्दा दर्ता हुने र प्रशासनिक काम प्रभावित हुने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको नगरप्रमुखहरूको भनाइ छ। जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा सहकार्यबाट मात्रै स्थानीय तहको सेवा प्रभावकारी रूपमा सञ्चालन हुने भएकाले कार्यालयमा हुने यस्ता घटनाले प्रत्यक्ष रूपमा सेवाग्राही प्रभावित हुने उनीहरूले बताएका छन्।
नगरप्रमुखहरूले औरही नगरपालिकामा भएको घटनालाई कुनै एक व्यक्ति वा स्थानीय तहसँग मात्र सम्बन्धित विषयका रूपमा नलिई देशभरका स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षा र कार्य वातावरणसँग जोडिएको विषयका रूपमा लिन मुख्यमन्त्री यादवसँग आग्रह गरेका छन्।
‘राज्य अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने अवस्थामा कर्मचारी र जनप्रतिनिधि नै असुरक्षित हुने अवस्था आउनु हुँदैन,’ नगरप्रमुखहरूले मुख्यमन्त्रीसमक्ष राखेको धारणा थियो। उनीहरूले जनप्रतिनिधि तथा कर्मचारीले निर्भय भएर सेवा प्रवाह गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताएका छन्।
ज्ञापनपत्रमा स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न, कार्यालयमा प्रवेश गरी हातपात वा दुर्व्यवहार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न प्रदेश सरकारसँग माग गरिएको छ।
नगरप्रमुखहरूले माग सम्बोधन नभए महोत्तरी जिल्लाका स्थानीय तहहरू संयुक्त रूपमा थप कडा रूपमा प्रस्तुत हुन बाध्य हुनेसमेत बताएका छन्। ज्ञापनपत्रमार्फत घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, निर्दोषमाथि दर्ता भएका मुद्दाको पुनरावलोकन तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले निर्भय रूपमा काम गर्न सक्ने वातावरण निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।






