महोत्तरी – गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयले शिक्षिका यशोदा लामिछानेलाई असोज महिनाको उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको छ।शुक्रबार विद्यालयका प्रधानाध्यापक रामस्नेही यादवले लामिछानेलाई प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।
विद्यालयमा नियमित उपस्थिति, कक्षाकोठामा प्रभावकारी शिक्षण, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, विद्यालयमा अनुशासन कायम गर्न योगदान तथा शिक्षणको गुणस्तर सुधारका लागि पुर्याएको सराहनीय भूमिकाको कदर गर्दै उनलाई उत्कृष्ट शिक्षक घोषणा गरिएको विद्यालयलका प्रअ यादवले बताए ।




विद्यालयले शिक्षकहरूलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी बनाउँदै शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा मासिक उत्कृष्ट शिक्षक घोषणा गरी प्रशंसापत्रसहित सम्मान गर्दै आएको छ।
विद्यालयको शैक्षिक वातावरण सुधार, अनुशासन कायम तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षकहरूको सक्रियता र योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभ्यासले शिक्षकहरूलाई थप जिम्मेवार र प्रेरित बनाउने अपेक्षा गरिएको छ।





