काठमाडौँ – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । तीन वर्ष अघि पहिलो संस्करण विजेता जनकपुरले आइतबार पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।
तृतराज दासले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो । जवाफमा आएको पोखराले ९ विकेट गुमाई १ सय ३८ रनमात्र बनाउन सक्यो ।



पहिलो खेलमा कर्णाली याक्सँग १९ रनले पराजित जनकपुरले दोस्रो खेलमा काठमान्डु गोर्खाजमाथि ८ विकेटको प्रभावशाली विजय हात पारेको थियो । पोखराको यो लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरबाट तृतराजले ५५ बलमा सर्वाधिक ६१ रन बनाए । उनी ७ चौका र २ छक्का प्रहार गरी १८ औं ओभरमा मेहदी हसनको बलमा पोखराका कप्तान कुशल भुर्तेलबाट सानदार क्याच आउट भए ।
तृतराज र मोइन अलीले पावर प्लेको ६ ओभरमा विना क्षति ४५ रन जोडेर जनकपुरलाई उत्कृष्ट सुरुआत दिलाए । तर सातौं ओभरमा मोइन आउट भएसँगै जनकपुरको विकेट पनि झर्न सुरु भएको थियो भने रनमा पनि अंकुश लागेको थियो ।
मोइन २१ रनमा आउट भएका छन् । दुई विश्वकप जितेका इंग्लिस खेलाडी उनी ३ चौका र १ छक्का प्रहार गरी शकिब अल हसनको बलमा बोल्ड भए । बंगलादेशी अलराउन्डर शकिबले उत्कृष्ट बलिङ गरे । आफ्नो ३ ओभरको पहिलो स्पेलमा ४ रनमात्र खर्चेर ३ विकेट लिएका थिए । उनले कुल ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।
शकिबले अर्का बंगलादेशका ब्याटर सेफ हसनलाई १ रनमा बोल्ड गरे भने जनकपुरका कप्तान हरमित सिंहलाई ९ रनमा पेभिलियन पठाए । अनिल साहले पनि ९ रनमात्र बनाउन सके । जिम्मी निसमले ११ बलमा ११ रनमात्र बनाउन सके ।
युवा ब्याटर अभिषेक तिवारी ११ बलमा २४ रन बनाई अविजित रहे । उनले १ चौका र २ छक्का प्रहार गरे । अमरसिंह रौटेला इनिङ्सको अन्तिम बलमा २ रनमा बोल्ड भए ।
पोखराबाट कप्तान कुशलले सर्वाधिक ३५ रन बनाए । उनले २४ बल खेली ५ चौका प्रहार गरे । दीनेश खरेल ३, मेहदी हसन ८, शकिब ९, अर्जुन घर्तीमगर ७ रनमा आउट भएका थिए । मोहम्मद सैफुद्धिनले खाता खोल्न सकेनन् ।
किरण ठगुन्ना ५ बल खेली २ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए । करुणारत्ने ४ र विपिन आचार्य १९ बलमा १ चौका प्रहार गरी २० रनमा आउट भए । विपिन खत्री १४ बलमा १७ र प्रतिक पोखरेल २ रनमा अविजित रहे ।
जनकपुरबाट मोइन अलीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । हरमितले ४ ओभरमा २० र सैफ हसनले ४ ओभरमा ३६ रन खर्चेर २–२ विकेट लिए । निसम र ललितले १–१ विकेट लिए ।




