महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसले सामुदायिक उच्च शिक्षाको विकास र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ । सीमित स्रोतसाधनबाट सुरु भएको क्याम्पसले भौतिक पूर्वाधार विस्तारसँगै शैक्षिक कार्यक्रमसमेत थप गर्दै उत्तरी महोत्तरीका विद्यार्थीका लागि उच्च शिक्षाको महत्वपूर्ण गन्तव्यका रूपमा आफूलाई स्थापित गर्दै गएको छ ।

यसैबीच, क्याम्पसको छैठौँ क्याम्पस सभा–२०८३ सम्पन्न भएको छ। सभामा सहभागी वक्ताहरूले सामुदायिक उच्च शिक्षाको विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छन् ।



सभाकी प्रमुख अतिथि मधेश प्रदेश सरकारकी निवर्तमान श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्न क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । सीमित स्रोतसाधनका बाबजुद शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा क्याम्पसले गरेको प्रगतिलाई सकारात्मक रूपमा लिँदै उनले आगामी दिनमा गुणस्तरीय, व्यवहारोपयोगी र रोजगारमुखी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्रीले सामुदायिक शिक्षाको विकासमा स्थानीय तह र शैक्षिक संस्थाबीच सहकार्य गरेर अगाडि बढी रहेको प्रसंशा गर्दै आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता गर्नुभयो ।
महोत्तरी जिल्लाको उत्तरी भेगका गरिब, विपन्न, असहाय तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई सुलभ रूपमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यस क्याम्पसले स्थापनाकालदेखि नै शैक्षिक पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ ।
क्याम्पसले २०६४ साल असोज ११ गते त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र वाणिज्य संकायअन्तर्गत स्नातक तहका दुई कार्यक्रम सञ्चालनको स्वीकृति प्राप्त गरेपछि औपचारिक शैक्षिक यात्रा सुरु गरेको थियो। हाल शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन नियमित रूपमा सञ्चालन भइरहेको छ ।
सुरुवाती दिनमा जनता माध्यमिक विद्यालय बर्दिबास–२ को भौतिक संरचना प्रयोग गरेर सञ्चालन भएको क्याम्पसले करिब नौ वर्षसम्म विद्यालयकै संरचनामा निर्भर रहनुपरेको थियो। आफ्नै भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक वर्ष २०७०/०७१ मा प्राप्त २५ लाख रुपैयाँ अनुदान र क्याम्पसको आन्तरिक स्रोत परिचालन गरी निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

भवन निर्माणका क्रममा जग्गासम्बन्धी कानुनी समस्या देखिए पनि तत्कालीन क्याम्पस व्यवस्थापन समिति र स्थानीय समाजसेवीहरूको पहलमा जग्गाको नापी तथा जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि निर्माण कार्यले गति लिएको थियो। क्याम्पसको भौतिक विकासमा योगदान पुर्याउँदै स्थानीय टिकराम गौतमले बर्दिबास नगरपालिका–१ मा रहेको ६ कठ्ठा जग्गा क्याम्पसका नाममा दान गरेका थिए ।
तेस्रो क्याम्पस सभाबाट गठित गुञ्जबहादुर खड्काको अध्यक्षतामा रहेको व्यवस्थापन समितिको कार्यकालमा आठकोठे भुइँतले भवन निर्माण तथा कम्पाउन्डिङको काम सम्पन्न भएको थियो। त्यसपछि २०७३ सालदेखि बीबीएस कार्यक्रम सञ्चालनमा आयो। आर्थिक वर्ष २०७४/०७५ मा बर्दिबास नगरपालिका, विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको आन्तरिक स्रोतबाट भवनको पहिलो तला निर्माण सम्पन्न भएपछि बीएड कार्यक्रमसहित पुस्तकालय, लेखा शाखा, प्रशासन शाखा र प्राध्यापक कक्ष आफ्नै भवनबाट सञ्चालन हुन थाले ।
विद्यार्थीको चाप बढ्दै गएपछि थप भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइयो। यसका लागि बर्दिबास नगरपालिका, विश्वविद्यालय अनुदान आयोग, मधेश प्रदेश सरकारअन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेशसभा सदस्य शारदादेवी थापा र निशा साहलगायतको सहयोग परिचालन गरिएको थियो ।

क्याम्पसको आन्तरिक स्रोतसमेत उपयोग गरी तीनतले २९ कोठे र तीनतले तीन कोठे भवन निर्माण सम्पन्न गरिएपछि हाल क्याम्पसमा ३२ वटा कोठा नियमित प्रयोगमा छन् । त्यसैगरी, चौथो क्याम्पस सभाबाट गठित भरतबहादुर हमालको अध्यक्षतामा रहेको व्यवस्थापन समितिको कार्यकालमा मोटरसाइकल पार्किङस्थल, भर्याङ छोप्ने ट्रस्ट तथा लिज प्रक्रियामा रहेको जग्गामा गेट र कम्पाउन्ड वाल निर्माण लगायतका काम सम्पन्न भएका छन् ।
बर्दिबास नगरपालिकाका ५१ वटा सामुदायिक विद्यालयसँग शैक्षिक रूपमा जोडिएको यस क्याम्पसले स्नातकदेखि स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको क्याम्पसले आगामी दिनमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सक्षम, आत्मनिर्भर तथा सीपमूलक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।
छैठौँ क्याम्पस सभामा क्याम्पसको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिको समीक्षा गर्नुका साथै आगामी योजना, शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत विकासका विषयमा छलफल गरिएको थियो ।
सभा कार्यक्रम क्याम्पसका अध्यक्ष भरत हमालकाे अध्यक्षता तथा मधेश प्रदेश सरकारका निवर्तमान श्रम तथा यातायात मन्त्री माननीय शारदा देवी थापाकाे प्रमुख अतिथि, विशिष्टमा बर्दिवास नगरपालिका नगर प्रमुख : पह्रलाद क्षेत्री, पुर्व नगर प्रमुख विदुर कार्की, संचालक समितिका पदाधिकारीहरु, प्रध्यापकहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न संघसंस्था प्रतिनिधिहरु लगायत अभिभावकहरुकाे उपस्थिति रहेको थियो ।




