मो.इसराफिल राइन,महोत्तरी – स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्दै महोत्तरीको मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष पनि जिल्लास्तरीय मूल्यांकनमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरी,जलेश्वरद्वारा २०८३ साल कात्तिक १२ र १३ गते आयोजित आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षामा मटिहानी नगरपालिकाले ७८.२ अङ्क प्राप्त गरी दोस्रो स्थान हासिल गरेको हो । समीक्षामा ७८.५ अङ्क प्राप्त गरेको मनराशिसवा नगरपालिका प्रथम भएको थियो ।




प्रथम र दोस्रो स्थान प्राप्त गर्ने स्थानीय तहबीचको अङ्कको अन्तर ०.३ मात्र रहेको छ ।स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तार, सेवा व्यवस्थापन तथा नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले सञ्चालन गर्दै आएका कार्यक्रमको मूल्यांकनका आधारमा उक्त उपलब्धि हासिल भएको हो । लगातार तीन वर्षसम्म जिल्लामा दोस्रो स्थान कायम गर्नुलाई नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको निरन्तर प्रयास र प्रतिबद्धताका रूपमा लिइएको छ ।
स्वास्थ्य संस्थाको पहुँच विस्तार
मटिहानी नगरपालिकामा हाल चार वटा स्वास्थ्य चौकी, पाँच वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दुई वटा प्रसूति गृह र दुई वटा प्रयोगशाला सञ्चालनमा रहेका छन् । स्थानीय नागरिकलाई गाउँ तथा बस्तीनजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले स्वास्थ्य संस्थाको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा औषधि र स्वास्थ्य उपकरणको उपलब्धतामा जोड दिँदै आएको छ ।

स्थानीय सरकार गठन भएपछि यसअघि सञ्चालनमा रहेका चार वटा स्वास्थ्य चौकीका अतिरिक्त पाँच वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । सुरक्षित मातृत्व सेवालाई प्राथमिकता दिँदै दुई वटा प्रसूति गृह तथा स्वास्थ्य परीक्षण सेवालाई सहज बनाउन दुई वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।नगरपालिकाले स्वास्थ्य संस्थाको नियमित सञ्चालन, आवश्यक जनशक्ति व्यवस्थापन तथा औषधि र उपकरणको उपलब्धता सुनिश्चित गर्दै स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।
खोप तथा मातृशिशु स्वास्थ्य कार्यक्रमको मूल्यांकन
स्वास्थ्य कार्यालय महोत्तरीद्वारा आयोजित वार्षिक समीक्षामा जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति तथा कार्यसम्पादनको मूल्यांकन गरिएको थियो ।

समीक्षामा नियमित खोप, पोषण, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्यलगायत कार्यक्रमको कार्यान्वयन अवस्था, प्रगति र उपलब्धिका आधारमा स्थानीय तहलाई अङ्क प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।उक्त मूल्यांकनमा दोस्रो स्थान हासिल गर्न सफल मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत पवनकुमार मण्डललाई टीका, माला तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
स्वास्थ्यकर्मी तथा संस्था प्रमुख सम्मानित
यसै उपलब्धिको अवसरमा मटिहानी नगर कार्यपालिकाको कार्यालय धिरापुरमा आयोजित कार्यक्रममा नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाको स्वास्थ्य शाखा तथा नगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखलाई धन्यवाद दिँदै सम्मान गर्नुभएको छ ।

कार्यक्रममा नगरप्रमुख मण्डलले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धि कुनै एक व्यक्ति वा शाखाको मात्र नभई नगरपालिकाभित्र कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुख तथा कर्मचारीको सामूहिक मेहनत, लगनशीलता र समर्पणको प्रतिफल भएको बताउनुभयो ।स्थानीय सरकार गठन भएदेखि नै नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्थाको विस्तार, पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा औषधि र उपकरणको उपलब्धतामा विशेष ध्यान दिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख मण्डलले लगातार तीन वर्षसम्म जिल्लामा दोस्रो स्थान हासिल गर्नु नगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा यस उपलब्धिलाई कायम राख्दै अझ उत्कृष्ट नतिजा हासिल गर्न स्वास्थ्यकर्मीलाई जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।लगातार तीन वर्षसम्म जिल्लामा दोस्रो स्थान हासिल गर्न सफल मटिहानी नगरपालिकाको उपलब्धिले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण तथा नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकारको सक्रियता र जिम्मेवारीलाई थप उजागर गरेको छ ।









