जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शनिबार मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् ।



नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।
राजीनामा स्वीकृत भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।
प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले आगामी मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्नुपर्नेछ ।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच समीकरण निर्माण र सत्ता सहकार्यको प्रक्रिया थप निर्णायक बन्ने देखिएको छ ।
अब प्रदेशसभामा बहुमत जुटाउन सक्ने दल वा गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।




