महोत्तरी- छठ पर्वको अवसरमा महोत्तरीको मनराशिसवा नगरपालिका–९ मा २०७ भन्दा बढी व्रतालु महिलालाई साडी वितरण गरिएको छ।
स्मार्ट करियर एकेडेमी, काठमाडौंका संस्थापक मनोहर झाको अगुवाइमा नगरपालिका वडा नम्बर–९ स्थित करिब नौवटा पोखरीका छठ घाटमा पुगेर व्रतालु महिलाहरूलाई साडी वितरण गरिएको हो।



तीन दिनसम्म कठिन व्रत बसेर जलाशयमा उभिई भगवान् सूर्य र छठी माताको पूजा–आराधना गर्ने व्रतालु महिलाहरूको सम्मानस्वरूप साडी वितरण गरिएको संस्थापक मनोहर झाले बताए। छठ पर्व आस्था, श्रद्धा, समर्पण र तपस्याको महापर्व भएकाले व्रतालु महिलाहरूको सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
साडी वितरण कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा गणमान्य व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा पत्रकार ध्रुब कुमार झा,स्थानीय आमाजसेवी फिरंगी झा, रोहित झा, अभिराम झा, घनश्याम झा, योगनारायण झा, वीरेन्द्र झा, बिमलेश झा, रोशन झा र अभय झासहितका व्यक्तिहरूले व्रतालु महिलाहरूलाई साडी प्रदान गरेका थिए।
यसैगरी, मनोहर झाले स्थानीय छठ घाटहरूको सरसफाइ तथा सजावटमा समेत उल्लेखनीय सहयोग गरेको स्थानीय रोहित झाले बताएका छन्। मनोहर झाको सहयोग र सद्भावका कारण यस वर्षको छठ पर्व विगतका वर्षहरूको तुलनामा विशेषगरी पूर्णा पोखरी टोलमा अत्यन्त मनमोहक र आकर्षक बनेको रोहितको दाबी छ। घाटको सरसफाइ, सजावट तथा व्यवस्थापनमा उनले पुर्याएको योगदानको स्थानीयवासीहरूले प्रशंसा गरेका छन्।
नयाँ पुस्ताका युवाहरू विदेश तथा व्यक्तिगत करियर निर्माणमा मात्र केन्द्रित नभई आफ्नो समाज र संस्कृतिको संरक्षण तथा सामाजिक सेवामा समेत समर्पित हुन सक्छन् भन्ने उदाहरण मनोहर झाले प्रस्तुत गरेको स्थानीयवासीहरूको भनाइ छ। युवा उमेरमै समाजसेवाप्रति देखाएको सक्रियता, सहयोग र सद्भावका लागि स्थानीयवासीहरूले मनोहर झाप्रति सम्मानसमेत प्रकट गरेका छन्।
छठ पर्वको अवसरमा व्रतालु महिलाहरूको सम्मान, घाटको सरसफाइ तथा सजावटमा पुर्याइएको सहयोगले स्थानीयस्तरमा सामाजिक सद्भाव, सहयोग र आपसी आत्मीयताको सन्देश दिएको छ। मनोहर झाको यस सामाजिक पहलको गाउँवासीहरूले प्रशंसा गरेका छन्।




