मधेश प्रदेशका युवा सामाजिक अभियन्ता कय्यूम राईन गम्भीर मुटुरोगबाट पीडित भएपछि उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
लामो समयदेखि स्वास्थ्य समस्यासँग जुध्दै आउनुभएका राईनले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । तर, निरन्तर उपचार गर्नुपर्ने अवस्था र स्वास्थ्य सेवामा लाग्ने उच्च खर्चका कारण परिवार आर्थिक सङ्कटमा परेको जनाइएको छ ।



राईनको उपचारलाई निरन्तरता दिन आवश्यक आर्थिक स्रोत जुटाउन कठिनाइ भएपछि परिवारले सर्वसाधारण, सामाजिक अभियन्ता, विभिन्न सङ्घसंस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगको अपिल गरेको हो ।
परिवारका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले आफ्नो क्षमताअनुसार सानो रकम सहयोग गरे पनि उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ । आर्थिक सहयोगले राईनको उपचारलाई निरन्तरता दिन र जीवनरक्षाको प्रयासमा ठूलो राहत मिल्ने परिवारको विश्वास छ ।
परिवारले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सहयोगका लागि सबैसँग आग्रह गरेको छ । साथै, आर्थिक सहयोगसँगै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना र प्रार्थना गरिदिन पनि सबैमा अनुरोध गरेको छ ।
परिवारले प्रत्येक व्यक्तिको सानो सहयोगले पनि उपचारका लागि ठूलो आशा जगाउन सक्ने भन्दै कय्यूम राईनको जीवनरक्षाका लागि सबैलाई हातेमालो गर्न अपिल गरेको छ ।





