धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका–२, बलहागोठस्थित छोटी भन्सार कार्यालयको परिसरमा शुक्रबार बिहान एक अपरिचित पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार ३५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुल्न नसकेको र शरीरमा बाहिरी चोटपटकसमेत नदेखिएको उहाँले जानकारी दिनुभयो ।



प्रहरी निरीक्षक कुँवरले प्रारम्भिक अनुमानका आधारमा मृतक प्लास्टिक सङ्कलन गर्ने भारतीय नागरिक हुन सक्ने बताउनुभयो । यद्यपि, मृतकको पहिचान र मृत्युको वास्तविक कारण पुष्टि हुन बाँकी रहेको उहाँको भनाइ छ ।
शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।




