जनकपुरधाम- लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर-जयनगर रेल सेवा बल्ल आज देखि सञ्चालनमा आएको छ।
यस पटक पटक रेल सञ्चालनको समय तोकिदै फेल हुँदै आएको थियो। नेपाल सरकारले बोगि सहितको दुई वटा रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो । यद्यपी रेलमा तत्काल यात्रु चढ्न पाउने छैन ।
आज आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर-विजलपुर-बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर-कुर्थासम्म ३२ किलोमिटर को दुरीमा रेल सञ्चालन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
महाप्रबन्धक निरञ्जन झाले भने, ‘आज देखि नियमित रूपमा दैनिक एक पटक कुर्था-जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ। तर, तत्काल यात्रु बिनाको ड्राई रन मात्र हुन्छ।’
महाप्रबन्धक निरञ्जन झाले हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्ने जनाए।
रेल सञ्चालनका लागि चालक सहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए। बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिम समेत दिई तयार गरेको महाप्रबन्धक झाले बताए ।
विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए।
५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्रयाक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवास सहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मा लगाएका थिए। तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले जानकारी दिए।
०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल भित्र्याइएको थियो । खरिद गरिएका रेल लामो समयदेखि जनकनन्दनी गाउँपालिका स्थित ईनर्वा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो। रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ।
यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ। कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ। रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए।
महाप्रबन्धक झाले भने, ’रेल संचालन गर्नको लागि रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ ।ठाउँ ठाउँमा लिकमा लगाई रहेको हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिका मार्फत निर्देशन दिइएको छ ।’
उनले अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको र गेट म्यान कर्मचारी बिहानैबाट काममा खटिएको बताए।
जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको दुरीमा एसी चलाएर रेल कुदाउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।
झाको अनुसार ६० नेपाली र १४ भारतीय कर्मचारी आईतवार देखि काममा खटिएको र १२ भारतीय कर्मचारी उद्घाटनपछि मात्र आउने छ।




